कोरोना पुष्टि भएकी गर्भवतीलाई क्वारेन्टिनमा धामी लगाएर झारफुक गरिएको खुलासा भएको छ । अछामको चौरपाटी गाउँपालिका–५ लुंग्राको क्वारेन्टिनमा वसेकी कोरोना संक्रमित २५ वर्षीया महिलालाई कोरोना भगाउने भन्दै झारफुक गरेको पाईएको छ । गर्भवती रहेकी महिलाको स्वास्थ्य स्थिति गम्भीर भएपछि हेलिकप्टरबाट उद्धार गरी बाँकेको कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएको छ ।
अस्पताल ल्याउनु अघि गाउँको दयापिपल तोला माविमा उनलाई दुई जना झाँक्रीले झारफुक गरेको संक्रमित महिलाकी एक जना आफन्तले बताए । उनका अनुसार झाँक्रीले महिलाको कपालमा पानी हाल्ने र फुक्ने कार्य गरेका थिए । वडाध्यक्ष टेकबहादुर खड्काले झारफुक गरेको आफूले पनि थाहा पाए पनि त्यहाँ नपुगेको बताए । खड्काले महिलाको दिसा रोकिएकाले स्थानीयले झाँक्री लगाएको पाइएको उनले बताए । उनले दुवै जना झाँक्रीको आरडीटी विधिबाट कोरोना संक्रमण परीक्षण भइसकेको समेत बताए । स्थानीयका अनुसार २२ जेठमा क्वारेन्टाइनमा बसेका ती महिला सहित अन्य ५० जनालाई पनि झारफुक गरिएको थियो ।
क्वारेन्टिन भएको स्कुल छेऊमा एउटा ढुंगा रहेकोमा त्यहाँ पूजा गरेपछि झारफुक गरिएको स्थानीयको भनाई छ । पूजामा थुप्रै गाउँले संलग्न रहेका कारण गाउँले सबैको परीक्षण गर्नुपर्ने अवस्था आएको वडाध्यक्ष खड्काले बताए । महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उनी उपचारत अस्पताल पनि एक दिनलाई इमर्जेन्सीर ओपीडी सेवा बन्द गरिएको छ । अस्पतालका डाक्टर दिनेश श्रेष्ठले बताए अनुसार अस्पताललाई डिइन्फेक्सन गर्न सेवा बन्द गराईएको हो । अहिले संक्रमितको स्वास्थ्य स्थिति स्थिर रहेको उनले बताए । महिलाको आन्द्राको शल्यक्रिया गर्ने पनि तयारी भइरहेको छ । उनी १० दिनअघि भारतको मुम्बईबाट आएकी थिईन् ।