कैलालीमा आजदेखि असार २२ गतेसम्म के गर्न पाउने के नपाउने, यस्तो छ सिडिओको आदेश
2021/06/30, 9:28
 
aa

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा असार आजदेखि निषेधाज्ञा थप खुकुलो पारिएको छ । आजदेखि सार्वजनिक सवारी साधन जोर विजोर प्रणाली लागु गरी सञ्चालन गर्न दिईएपछि सवारी साधन सञ्चालनमा आएका छन् । नीजि सवारी साधनमा जोर विजोर प्रणाली लागू गरी यसअघि नै सञ्चालन गर्न दिइएको थियो ।  

सार्वजनिक सवारी साधन विहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ । अटो, मोटरसाइकल र स्कुटीमा पनि जोरबिजोर जारी रहने प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए । यातायातका साधन जिल्ला भन्दा बाहिर जान र बाहिरबाट आउन भने रोक लगाएको छ ।

सवारी साधनले क्षमता भन्दि यात्रु बोक्न पाउने छैनन । चालक, सहचालक र कन्डक्टरले मास्क र पञ्जा अनिवार्य रुपमा लगाउनु पर्नेछ । त्यसका साथै ढोकामा सेनिटाईजरको व्यवस्था पनि अनिवार्य गरेको छ ।

अत्यावश्यक सवारी साधन, यस्तै सरकारी, निजी तथा मालबाहक लगायतका सवारी साधन सञ्चालन गर्न पाईनेछ । अब अत्यावश्यक सामग्री प्रवाह गर्ने बाहेक सबै खाले पसलहरू प्रत्येक दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाईनेछ । उद्योग, कलकारखाना लगायत, सार्वजनिक तथा निजी निर्माण कार्य पनि सञ्चालनमा आएका छन् ।

होटल रेष्टुरेन्ट, खाजा पसलले होम डेलिभरी तथा टेक अवे सेवा बिहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्न पाईने छ । 
सरकारी कार्यालय, सार्वजनिक निकाय, बैंक वित्तीय संस्थाहरू, गैरसरकारी संस्था स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर तथा आलोपालो गरी सञ्चालन गर्न सकिने छ । वर्कसप कम्तीका ३ जना कर्मचारी राखेर बिहान ७ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न प्रशासनले अनुमति दिएको जिल्ला प्रशासन कार्यालय कैलालीको जारी निषेधाज्ञामा उल्लेख छ ।

भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको विगतको व्यवस्था कायमै रहेको छ । होटल तथा पार्टी प्यालसेमा हुने विवाह व्रतवन्धलाई पनि रोक लगाइएको छ । सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भीडभाड हुने स्थान बन्द रहनेछन् भने विवाह ब्रतबन्धको हकमा स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १० जनासम्म मात्रै भेला हुन पाउनेछन । नित्यकर्म बाहेकका धार्मिक कार्यक्रममा पनि सञ्चालन गर्न पाइने छैन । भौतिक उपस्थितिमा पठनपाठन पनि गर्न नपाइने आदेशमा उल्लेख छ । 

जिल्ला संकट व्यवस्थापन केन्द्रले कैलाली जिल्लामा पनि परिमार्जन सहित निषेधाज्ञा थप्ने निर्णय गरेको थियो । केन्द्रको बैठकले २२ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको प्रशासनका सूचना अधिकारी शिवराज जोशीले बताए । 
 

यस्तो छ सिडिओको आदेश