टीकापुर नगरपालिका कार्यपालिकाको बैठकमा वडा विभाजनको विषयलाई लिएर तनाव सिर्जना भएको छ। आज बसेको कार्यपालिका बैठकमा मेयर तपेन्द्रबहादुर रावल र वडाध्यक्ष रामलाल डगौरा थारुबीच भनाभन भएपछि वडा विभाजनको विषयमा छलफल हुन नसकेको एक कार्यपालिका सदस्यले जानकारी दिए।
उनले कार्यपालिका बैठक भोलि बिहान ७ बजेसम्मका लागि स्थगित भएको बताए। बैठकमा मेयर रावलले वडा विभाजनका विषयमा राजनीतिक दलहरुले दिएको सुझाव अनुसार अघि बढ्नुपर्ने धारणा राखेपछि वडाध्यक्ष थारुले त्यसको प्रतिवाद गरेका थिए।
उनले सुझावमाथि कार्यपालिका बैठकमा समेत छलफल हुनुपर्ने धारणा राखेका थिए। ‘वडा विभाजन कसरी गरिदै छ। हामीलाई केही जानकारी छैन। मैले हामीबीच छलफल हुनुपर्छ भनेको हुँ’ उनले भने, ‘कार्यपालिका बैठकमा छलफल नभएर नगरसभामा प्रस्ताव जानु हुँदैन भन्ने मेरो भनाइ हो।’
उनले मेयर रावलले कार्यपालिका बैठकमा छलफल नै नगरी जबरजस्ती वडा विभाजनको प्रस्ताव नगरसभामा लैजान खोजेको आरोप लगाए। यस बारेमा बुझ्न खोज्दा मेयर रावलले मोवाइल रिसिभ गरेनन्।
बैठकमा मेयर रावलले वडा विभाजनको प्रस्ताव असफल भए त्यसको सबै जिम्मेवारी लिनुपर्ने भन्दै वडाध्यक्ष थारुलाई हप्काएको एक सहभागीले बताए। उनका अनुसार बैठकमा मेयर रावलले प्रस्तावको विरोधमा गए प्रतिकार गरिने भन्दै वडाध्यक्ष थारुलाई चेतावनी समेत दिएका थिए।
तालाबन्दी खुल्यो
टीकापुर नगरपालिका–१ वनगाउँका बासिन्दाले नगरपालिकाको कार्यालयमा लगाएको ताला खुलेको छ। उनीहरुले आफ्ना माग सहितको ज्ञापन पत्र मेयर रावललाई बुझाएपछि ताला खोलेका हुन्। ज्ञापन पत्र बुझदै मेयर रावलले प्रयाप्त छलफल गरेर मात्रै वडा विभाजनको विषयमा टुङ्गो लगाउने प्रतिवद्धता गरेपछि ताला खोलेको स्थानीय चम्मन चौधरीले जानकारी दिए।
वनगाउँका स्थानीयले नगरपालिकाको हालको वडा नं. १ लाई कम्तिमा ६ वटा वडा बनाईनुपर्ने माग अघि सारेर आजै नगरपालिका कार्यालयमा तालाबन्दी गरेका थिए। वनगाउँमा थारु समुदायको बसोबास रहेको छ। उनीहरुले नगरपालिकाले आफूहरुलाई अल्पमतमा पार्ने षडयन्त्र अनुसार वडा विभाजनको काम अघि बढाएको आरोप लगाएका छन्।