प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । बेदकोट नगरपालिका ९ सुन्दरपुरका ३१ वर्षिय गगन बोहरालाई ५१० मिलिग्राम ब्राउन सुगर (खैरो हिरोइन ) सहित पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेका बोहरालाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ । उनलाई मंगलबार राति बेदकोटबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदीले खैरो हिरोइन सहित बोहरालाई पक्राउ गरिएको बताए । ‘हिजो राति पक्राउ गरिएको छ, को हुन् खुलेको छैन, अनुसन्धान गर्दैछौ’ उनले भने । प्रहरीले सडकमा उभिएका बोहरालाइ जाँच गर्दा हिरोइन भेटिएको दाबी गरेको छ ।
प्रहरी स्रोतका अनुसार बोहरा कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका सवारी भएको खुलेको छ । प्रहरीले उनी सवारी चालक भएको खुलेपछि प्रशासन कार्यालयलाई जानकारी दिएको स्रोतले बतायो ।
प्रशासन कार्यालयका सूचना अधिकारी कृष्णानन्द जोशीले बेदकोटका बोहरा सहायक प्रमुख जिल्ल्ला अधिकारी भण्डारीको सवारी चालक भएको बताए । ‘एक जना गगन बोहरा चाहिँ चालक छन्, बेदकोटका हुन्’ उनले भने, ‘प्रहरीले समातेको बारे मलाई केही जानकारी भएन ।’