दार्चुलाका पहिलो संक्रमित कोरोना जितेर घर फर्किएका छन । महाकाली नगरपालिका ६ का २१ वर्षीय युवक कोरोना जित्दै घर फर्किएका हुन् । उनलाई जेठ १५ गते कोरोना पुष्टि भएको थियो ।
भारतबाट मजदुरी गरी फर्किएका ती युवकलाई महाकाली नगरपालिकाको महेन्द्र नमूना मावि खलंगाको क्वारेन्टाइनमा रहेका बेला कोरोना भएको थियो । कोरोना लक्षण देखिएपछि उनलाई जिल्ला अस्पताल दार्चुलाको आइसोलेसनमा भर्ना गरिएको थियो ।
युवाको जेठ १७ र जेठ २३ गते गरिएको दोस्रो र तेस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि मंगलबार अस्पतालबाट डिस्चार्ज गरिएको छ । कोरोना जितेर जिल्ला अस्पताल दार्चुलाको आइसोलेसनबाट ती युवकको विदाई गरिएको जिल्ला अस्पताल दार्चुलाका डाक्टर गजेन्द्र दुवालले जानकारी दिए । जिल्ला अस्पताल दार्चुलाको आइसोलेसनमा अब महाकाली नगरपालिका ८ का २४ वर्षीय संक्रमित पुरुष बाँकी रहेका छन ।