सुदूरपश्चिम सरकारले पारिश्रमिक नदिएको भन्दै बैतडीको पाटन –पञ्चेश्वर सडकमा कार्यरत लेन्थवर्करहरुले शुक्रबारदेखि रिले अनसन शुरु गरेका छन्। बितेको २१ महिनादेखि आफूहरुले पारिश्रमिक नपाएको र पारिश्रमिकका लागि सरकारलाई दबाद दिन रिले अनशन शुरु गरिएको लेन्थवर्कर जयराम भुलले जानकारी दिए।
सरकारले हामी सडकमा काम गर्ने मजदुरको पीडालाई वेवास्ता गरेको छ। सरकारले हाम्रो पीडा बोध गरोस भनेर अनसन शुरु गरेको उनले बताए। पाटन –पञ्चेश्वर सडकको जिरो प्वाइन्ट पाटनमा रिले अनशन शुरु गरेको अर्की लेन्थवर्कर लक्ष्मी पन्तले बताइन्। उनले भनिन् ‘हामीलाई संघीयता आएपछि घर न घाटको बनाइयो। लामो समयदेखि सडकमा काम गर्दै आईरहेका हाम्रो पीडा चिल्ला कारमा घुम्ने नेताहरुलाई महसुस भएन्। अब हामी सडकमा उत्रिसकेका छौं । जे गर्न पनि तयार छौं।’
संघीय सरकार मातहत रहेको पाटन–पञ्चेश्वर सडक अहिले प्रदेश सरकार मातहत रहेको छ। सडक डिभिजन कार्यालयले पूर्वाधार विकास कार्यालयलाई सो सडक हस्तान्तरण गर्ने बेला सडकमा काम गर्ने लेन्थवर्करको पनि लिस्ट हस्तान्तरण गरेको थियो। प्रदेश सरकार मातहत आएपछि लेन्थवर्करहरुले तिन महिनाको तलब पनि बुझेका थिए।
२०७६ साल असोजबाट आफूहरुले पारश्रमिक नपाएको लेन्थवर्कर हरजित महराले बताए। उनले भने, ‘हामीले बर्षौंदेखि काम गर्दै आएको ठाउँमा हामीलाई अलपत्र पार्ने काम सरकारले गरेको छ । हाम्रो व्यवस्थापन नहुँदा सम्म हाम्रो आन्दोलन जारी रहन्छ।’
प्रदेश सरकारका तत्कालिन भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहराले लेन्थवर्करहरुलाई काम गर्न मौखिम रुपमा निर्देशन दिएका थिए । तर, अहिले सम्म लेन्थवर्करहरुको कुनै व्यवस्थापन गरिएको छैन्।
संघीयता आएपछि आफूहरुको रोजीरोटी खोज्ने प्रयास भएको लेन्थवर्करहरुले आरोप लगाएका छन् । सडक डिभिजन कार्यालय मातहत पाटन–पञ्चेश्वर सडक हुँदा आफूहरुलाई कुनै समस्या नभएको र सडक प्रदेश सरकार मातहत गएपछि आफूहरु समस्यामा परेको लेन्थवर्कर लालसिंह धामीले बताए।
यसअघि लेन्थवर्करहरुले बिहीबार मात्रै आफूहरुको पारिश्रमिक दिलाइदिनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्रसमेत बुझाएका थिए।