अछामको रामारोशन गाउँपालिकामा तालाबन्दी गरिएको छ । बाल शिक्षक संर्घष समिति रामारोशन गाउँपालिकाको नेतृत्वमा गाउँपालिकाका कार्यालय र शिक्षा विकास शाखामा बिहिबार ताला लगाइएको हो ।
बाल विकास केन्द्रमा अध्यापन गराउने शिक्षकहरूले पाउने तलब गाउँपालिकाले नदिने भनेपछि गाउँपालिकामा ताला लगाइएको बाल शिक्षक संर्घष समितिका अध्यक्ष ललिता खत्रीले जानकारी दिए ।
बाल विकास केन्द्रका शिक्षकलाई पालिकाले ७ हजार तलब दिनु पर्ने केन्द्र सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । तर रामारोशन गाउँपालिकाले भने रकम नभएको भन्दै बाल विकास केन्द्रमा अध्यापन गराइरहेका शिक्षकलाई तलब नदिने बताइरहेको छ ।
केन्द्र सरकारले बाल विकास केन्द्रका शिक्षकहरूको तलब पालिकाले दिनुपर्ने ७ हजार गरेर १५ पु¥याएको छ । लगातारको माग र छलफल पछि पनि गाउँपालिकाले दिनु पर्ने तलब नदिए पछि बाध्य भएर तालाबन्दी गरिएको बाल शिक्षक संर्घष समितिका अध्यक्ष खत्रीको भनाई छ । यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले गाउँपालिका चरम आर्थिक सङ्कटमा रहेकाले तत्काल शिक्षकको समस्या समाधान गर्न नसकिने बताए ।