कर्णाली नदीमा रहेको सत्तीघाट पुलमा पैदल आउजाउ
2021/07/03, 9:48
 
aa

हुलाकी राजमार्गअन्तर्गत कैलालीको टीकापुर र बर्दिया जोड्ने कर्णाली नदीमा रहेको सत्तीघाट पुलमा पैदल आउजाउ सञ्चालनमा आएको छ । गत शनिबारको बाढीले पुलको तटबन्ध भासिएपछि आवागमन ठप्प थियो । हुलाकी सडक आयोजनाको नेपालगन्ज डिभिजन कार्यालयले बाढीले भासिएको पुलको किनारको तटबन्ध मर्मत गरिरहेको छ । 

मर्मत भइरहेकै अवस्थामा पैदल यात्रुलाई आवतजावत गर्न दिइएको छ । सवारीसाधन सञ्चालनका लागि भने केही दिन लाग्ने हुलाकी सडक आयोजना कार्यालयले जनाएको छ । टीकापुर नगरपालिका–८ का अध्यक्ष दीर्घ ठकुल्लाले तटबन्ध भासिएको ठाउँमा ढुंगा भरान गरेर पहिलेकै अवस्थामा बाटो सुचारु गर्ने प्रयास भइरहेको बताए । ‘सवारी चल्न सक्ने गरी मर्मतको काम भइरहेको छ,’ उनले भने, ‘ पूर्णरूपमा सुचारु हुन अझै केही दिन लाग्न सक्छ ।’

उनका अनुसार आंशिक रूपमा मानिसहरू आउजाउ गर्न सक्ने भएपछि पैदल यात्रलाई केही राहत भएको छ । मोटरसाइकलमा सवार यात्रुले भने दौलतपुर घाटमा डुंगा (स्टिमर) को सहारा लिनुपर्ने बाध्यता छ । टीकापुर नगरपालिकाको श्रीलंका गाउँका बासिन्दालाई पुल छेउको तटबन्ध भासिएपछि आवतजावत बन्द हुँदा धान रोपाइँमा समस्या भएको थियो । श्रीलंका गाउँमा रहेको जग्गामा खेती लाउन उनीहरू पुल तरेर आवतजावत गरेका छन् । पुल मर्मतको काम सुरु भएपछि पैदलै भए पनि उनीहरू अहिले सजिलै श्रीलंका गाउँ जान सक्ने भएका छन् ।

टीकापुर र राजापुर जोड्ने कर्णाली नदीमा बनेको सत्ति घाट पुलको पश्चिमतर्फको छेउको तटबन्ध भासिँदा गत शनिबार साँझदेखि आउजाउ बन्द भएको हो । स्थानीयका अनुसार श्रीलंका गाउँ बर्दियाको राजापुरसंँग जोडिएको छ । टीकापुर नगरपालिकाको अरुणाफाँटाका अधिकांशको जग्गा श्रीलंकामा छ । उनीहरू पुल क्रस गरेर खेतीपाती गर्दै आएका छन् । पुलबाट वारपार बन्द भएपछि खेती लाउन उनीहरूलाई समस्या भएको थियो ।

राजापुर क्षेत्रका बासिन्दा टीकापुर आउन र टीकापुर क्षेत्रका बासिन्दा राजापुर जान यही पुल मात्र सहारा हो । पुल भएन भने डुंगाबाट वारपार गर्नुपर्ने बाध्यता छ । कर्णाली नदीमा पुल निर्माण भएदेखि नै पुलको पूर्वतर्फको क्षेत्रमा पानीको बहाव बढी हुने भएकोले पुलको पूर्वतर्फको तटबन्ध बर्सेनि भत्कने गरेको थियो । पुल जोगाउन थामथुम पारिन्थ्यो । वर्षा सकेपछि वास्ता हुन्थेन । यसपालि आउजाउ नै बन्द भयो । यो हुलाकी सडक खण्डको सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश जोड्ने पुल हो ।

हुलाकी सडकमा रहेको यो पुलले बर्दिया र कैलालीलाई जोडेको छ । राजापुर क्षेत्रका बासिन्दालाई उपचारका लागि सदरमुकामा गुलरिया जानुभन्दा टीकापुर नजिक छ । पुलका कारण आउजाउ सहज बनेको छ । करिब ५ सय मिटरको पुल बनेपछि राजापुर र टीकापुर जोडिएको छ । पुल नहुँदा डुंगाबाटै वारपार गर्नुपर्ने बाध्यता थियो ।