धनगढीमा विद्युत अनियमित हुँदा नगरवासी हैरान भएका छन् । धनगढी अन्तर्गतका विभिन्न फिडरहरुमा विद्युत आउने जाने गरेका कारण नगरवासीहरु गर्मीको समयमा आजित भएका छन् । सामान्य हावाहुरी र बर्षाको वहानामा विद्युत प्राधिकरणले विद्युत काट्ने गरेको नगरवासीको आरोप छ ।
धनगढीमा अनियमित विद्युत कटौती हुन थालेसँगै इन्भर्टर, ब्याट्री र सोलारको बिक्री बढेको छ । लोडसेडिङ हटेपछि सुस्ताएको इन्भर्टर, ब्याट्री र सोलारको व्यापार पुनः फस्टाउन थालेको व्यापारीहरूले बताएका छन् । पछिल्ला समय धनगढीमा पटक–पटक बत्ती जान थालेपछि स्थानीयहरू घर–घरमा इन्भर्टर, ब्याट्री र सोलार जडान गर्न थालेका छन ्। धनगढीमा तापक्रम अत्यधिक बढ्नु र विद्युत कटौती हुने क्रम समेत बढ्नाले व्यापार फस्टाएको व्यापारीहरू बताउँछन् ।
पछिल्लो समय लोड सेडिङ्ग अन्त्य भएपनि अघोषित रूपमा विद्युत जाने गरेको छ। धनगढीमा त आकासमा बादल लाग्दा र हावाहुरी सुरू हुँदा बिजुली गइहाल्ने समस्या छ। रातिको समयमा विद्युत अवरुद्ध भएपछि दोस्रो दिनमात्रै मर्मत हुने गरेको छ । त्यसैले चर्को गर्मीबाट बच्न इन्भर्टर, ब्याट्री लगायतको बिक्री समेत बढेको हो ।
यता नेपाल विद्युत प्राधिकरणले भने, हावाहुरीका कारण सव–स्टेशनमा समस्या आएपछि विद्युत अनियमित हुने गरेको बताउँदै आएको छ । नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख जगदिश जोशीले सव–स्टेशनमा समस्या आएपछि विद्युत आपूर्तिमा समस्या आएको बताए ।
यसैबीच विद्युत अनियमित भएको भन्दै युवा संघ सुदुरपश्चिम प्रदेश कमिटिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै आन्दोलनको चेतावनी दिएको छ । युवा संघ प्रदेश अध्यक्ष बाबुराजा श्रेष्ठको नेतृत्वमा गएको टोलीले कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाललाई ज्ञापनपत्र बुझाउँदै अनियमित विद्युतको समस्या समाधान गर्नका लागि पहल चाल्न समेत अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रिजाललाई बुझाईएको पत्रमा कृत्रिम अभाव सिर्जना गरी व्यवसायीहरुबाट मोटो रकम लिएको जनगुनासो आएकोले सो कार्य तत्काल बन्द गर्न पनि माग गरेको छ । विद्युत सेवा नियमित नभएमा चरणबद्ध आन्दोलनमा उत्र्रिने युवा संघ सुदुरपश्चिम कमिटी अध्यक्ष बाबुराजा श्रेष्ठले चेतावनी दिए ।
ज्ञापनपत्र बुझेपछि समस्या समाधानका लागि पहल गर्ने कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालले प्रतिबद्धता जनाएका छन् । विद्युत प्राधिकरणका प्रमुख सहित सरोकारवालासँग छलफल गरी समाधान गर्न पहल थाल्ने आश्वासन पाएको अध्यक्ष श्रेष्ठले खबरकुञ्जलाई जानकारी दिए ।