कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा असार २२ गतेसम्म निषेधाज्ञा लगाइएको छ । असार २३ गतेदेखि भने नाम मात्रैको निषेधाज्ञा रहने भएको छ । अधिकांश क्षेत्र खुलिसकेको अवस्थामा बाँकी रहेका क्षेत्र पनि खोल्ने तयारी प्रशासनले गरेको छ ।
सबै सार्वजनिक सवारी साधन खोल्ने तयारी गरिएको छ । हाल सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । तर २३ गतेपछि भने निषेधाज्ञालाई थप खुकुलो बनाउने तयारीमा प्रशासन जुटेको छ । सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएकोमा २३ गतेदेखि जोरबिजोर हटाउनेबारे छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।
२३ गतेपछि सार्वजनिक सवारी साधनसँगै होटेल रेष्टुरेन्ट पनि खोल्न दिने तयारीमा प्रशासन जुटेको छ । होटल रेष्टुरेन्ट, खाजा पसलले होम डेलिभरी तथा टेक–अवे सेवा मात्रै सञ्चालन गर्न पाइरहेका छन् । अब होटल पनि खोल्न दिने विषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।
अहिले भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ । होटल तथा पार्टी प्यालसेमा हुने विवाह ब्रतवन्धमा रोक लगाइएको छ । सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भीडभाड हुने स्थान बन्द गर्न र स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १० जनासम्म मात्रै भेला हुन पाउने आदेश जारी छ ।