कञ्चनपुरको हुलाकी राजमार्ग निर्माणको काम अझै सकिएन
ठेक्का सम्झौता भएको ५ बर्ष
2021/07/06, 1:59
 
dd

कञ्चनपुरको पुनर्वास स्थित डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै वेदकोट स्थित दैजी जोड्ने हुलाकी राजमार्ग निर्माणको काम पाँच वर्ष बितेपनि निमार्ण कार्य सम्पन्न हुन सकेको छैन् । तीन वर्षमा सडक निर्माण सक्ने गरी ठेक्का सम्झौता भए पनि ७५ प्रतिशत मात्रै काम भएको छ । तीन पटक थपिएको समयावधि पनि पूरा भइसकेको छ ।

डोकेबजारदेखि बेलौरी, बेलडाँडी हुँदै दैजीसम्म ६२ किलोमिटर सडकलाई तीन खण्डमा बाँडेर ठेक्का सम्झौता भएको हो । तीनवटै खण्डमा ७०-७५ प्रतिशत मात्रै काम भएको हुलाकी सडक आयोजना कार्यालय धनगढीले जनाएको छ ।

कञ्चनपुरमा हुलाकी सडक निर्माणको काम २०७३ फागुनदेखि सुरु भएको हो ।  पहिलो र तेस्रो खण्डको म्याद गत फागुनमै र दोस्रो खण्डको जेठमा म्याद सकिएको हो । तीनवटै खण्डमा फेरि ६-६ महिना म्याद थप हुने सम्भावना छ ।

डोकेबजारदेखि बेलौरीको बुटाबारीसम्म पहिलो खण्डमा २० किलोमिटरमध्ये करिब १८ किलोमिटर सडक कालोपत्र भएको छ । अहिले नाली तथा ह्युम पाइप राख्ने काम भइरहेको छ । बुटाबारीदेखि बेलाडाँडीसम्म दोस्रो खण्डमा २० किलोमिटरमध्ये ८ किलोमिटर मात्रै सडक कालोपत्र भएको छ । बेलडाँडीदेखि दैजीसम्म २२ किमिमध्ये १० किमि मात्रै कालोपत्र भएको छ ।

पहिलो र तेस्रो खण्डको सडक निर्माणका लागि २०७३ फागुनमा शर्मा राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता भएको थियो । पहिलो खण्डको ३६ करोड ४७ लाख र दोस्रो खण्डको ४८ करोड ५७ लाखमा ठेक्का सम्झौता भएको हो । दोस्रो खण्डको सडक निर्माणका लागि ४१ करोड ७६ लाखमा बाबा हंस निर्माण कम्पनीसँग २०७३ पुसमा ठेक्का सम्झौता भएको हो ।