नेपाली काँग्रेसमा केन्द्रदेखि जिल्ला तहसम्म १४ औं महाधिवेशनको रौनक बढेको छ । केन्द्रमा सभापतिका आकांक्षीले दाबी प्रस्तुत गरिराख्दा उता जिल्ला सभापतिका दाबेदारको पनि दौडधुप सुरु भएको छ ।
काँग्रेसमा अब वडा तहका अधिवेशनहरु सुरु हुन २० दिन मात्र बाँकी छ । १२ साउनदेखि वडा तहको अधिवेशन सुरु हुनेछ । त्यसपछि १६ साउनमा पालिका, २० साउनमा प्रदेश सभा, क्षेत्र र २३ साउनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र एवं जिल्लाको अधिवेशन हुनेछ ।
त्यस्तै, एकभन्दा बढी निर्वाचन क्षेत्रहरु भएका जिल्लाको अधिवेशन २६ साउनमा हुनेछ भने भदौ १ र २ गते सातै प्रदेशको अधिवेशन हुनेछ । त्यसपछि भदौ १६–१९ गते काठमाडौंमा १४ औं महाधिवेशन हुने काँग्रेसको कार्यतालिका छ ।
यससँगै, काँग्रेसमा केन्द्र र जिल्ला अधिवेशनको चर्चा र चासो बढेको छ । खासगरी पहिलोपटक बन्न लागेका प्रदेश कमिटीहरुमा जिल्ला सभापतिबाट रिङआउट भएका र केन्द्रीय पदाधिकारीमा ‘हाइट’ नपुगेका नेताहरुको नजर परेको देखिन्छ । यसका लागि स्थानीय कार्यकर्ता सँगसँगै केन्द्रमा पनि नेतृत्वसँगको लबिङलाई जिल्ला नेताहरुले तीव्र बनाउन थालेका छन् ।
सुदूरपश्चिम प्रदेशका ९ जिल्लाको चहल–पहल
सुदूरपश्चिम प्रदेशमा काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला पनि पर्छ । १३ औं महाधिवेशनमा ९ जिल्ला मध्ये ६ जिल्लाका सभापतिमा देउवा निकट नेताहरु निर्वाचित भएका थिए । सुदूरपश्चिमको दार्चुला बाहेक सबै जिल्लामा देउवाको जबरजस्त उपस्थिति छ ।
यद्यपि १३ औं महाधिवेशनमा गृहजिल्ला डडेल्धुरामा देउवालाई आफ्ना पूर्वसहयोगी कर्णबहादुर मल्लले चुनौती दिएका थिए । बैतडी जिल्ला सभापतिमा पनि बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बाजी मारेको थियो । कतिपय जिल्लामा केन्द्रीय सदस्यद्वय एनपी साउद र रमेश लेखकको टकरावले पनि देउवा टीममा समस्या खडा गरेको थियो । यसपटक पनि अधिकांश जिल्लामा ‘देउवा भर्सेस देउवा’कै अवस्था छ ।
कैलाली
सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलालीमा काँग्रेसको जिल्ला सभापति को आउँछ भनेर चासोका साथ हेरिएको छ । जनसंख्याका दृष्टिले सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो र प्रतिनिधि सभाका पाँच निर्वाचन क्षेत्र भएको कैलालीमा जिल्ला सभापतिका आकांक्षीको सूची लामो छ ।
जिल्ला सभापति नरनारायण शाह (मनु) ले दुई कार्यकाल पार्टी सभापति पदको जिम्मेवारी पूरा गरिसकेका छन् । उनलाई तेस्रो पटक जिल्ला सभापतिको नेतृत्व लिन पार्टी विधानले मिल्दैन । अब कैलालीमा नयाँ सभापति आउने पक्का छ ।
आशन्न नेपाली कांग्रेसको महाधिवेशनमा पनि कैलालीलाई रोचकताका साथ हेरिएको छ । हालका सभापति नरनारायण शाह (मनु) दुई पटक सभापति भईसके । कांग्रेसको विधान अनुसार उनी फेरी उठ्न पाउदैनन् । त्यसैले अबको कैलाली कांग्रेसको सभापति को हुन्छ त ? सबैले यो विषयलाई रोचकताका साथ हेरेका छन् ।
यस्तोमा सभापतिका आकांक्षीहरुको संख्या पनि धेरै रहेको विश्लेषण हुने गरेको छ । यस्तोमा हालका उपसभापति प्रकाश बम र महासमिति सदस्य एबम् पूर्व उपसभापति नारायणदत्त भट्ट खुलेरै प्रचार–प्रसारमा जुटिसकेको चर्चा छ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता डा.रण बहादुर रावलले पनि आकांक्षा देखाईरहेको चर्चा छ । उनी १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित उम्मेदवार समेत हुन् । उनले आकांक्षालाई ‘हेविवेट’ तवरबाट हेरिएको छ ।
पार्टी सभापतिको लाईनमा धनगढी उपमहानगरपालिकाका मेयर नृपवहादुर ओड पनि रहेका छन् । हाल नेपाली काग्रेंस धनगढी नगर समितिको सभापति रहेका उनी जिल्ला सभापतिमा ईच्छुक रहेका छन् । त्यसका लागि उनले लबिंग पनि गरिरहेका छन् । त्यसैगरी कोईराला पक्षबाट अध्यक्षमा गणेश देउवाको नाम पनि चर्चामा रहेको छ ।
अघिल्लो पटक पार्टी सभापतिमा पराजित भीम बडुवाल र महासमिति सदस्य कमल शाह पनि सभापतिको प्रतिस्पर्धामा आउनसक्ने आँकलन गरिएको छ । शाह संविधान सभा सदस्य निर्वाचनका उम्मेदवार रहीसकेका व्यक्ती समेत हुन् ।
यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का सभापति खेम चौधरी र प्रतिनिधि सभा क्षेत्र नम्बर ४ का सभापति दिनेशराज जोशीले पनि आकांक्षा राखिरहेका छन् ।
कञ्चनपुर
सुदूरपश्चिम प्रदेशको दोस्रो धेरै जनसंख्या र निर्वाचन क्षेत्र भएको कञ्चनपुरमा पनि जिल्ला सभापतिको रस्साकस्सी शुरु भइसकेको छ ।
वर्तमान सभापति हरि बोहोराले दोस्रो कार्यकाल जिल्ला सभापति हुने आकांक्षा राखेका छन् । गत अधिवेशनमा बोहोरासँग पराजित पदम बोगटी पनि सभापतिको उम्मेदवार बन्ने चर्चा छ । यस्तै, बहादुरसिंह थापा पनि अगाडि आएको अवस्था छ । गत अधिवेशनमा पराजित बनेका गोपाल गुरुङको नाम पनि चर्चामा छ ।
कञ्चनपुरमा देउवा टीमभित्रै केन्द्रीय सदस्य एनपी साउद र रमेश लेखकका प्रतिनिधिबीच प्रतिस्पर्धा हुने गरेको छ । लेखक निकट बोहोरा र साउदसँग नजिक बोगटी र थापाबीच नै प्रतिस्पर्धाको सम्भावना बढी छ ।
यस्तै, पौैडेल पक्षीय नेता गुरुङले पनि लेखक र साउदको लडाइँमा फाइदा उठाउन चाहेका छन् । यद्यपि लेखक र साउदले आफू निकटलाई जिल्ला सभापति जिताउन पौडेल पक्षका नेता देवानसिंह विष्टसँग आन्तरिक छलफल अघि बढाएको देखिन्छ ।
डडेल्धुरा
सुदूरपश्चिमा सबैभन्दा बढी चुनावी रौनक सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा देखिएको छ । डडेलधुरामा देउवा भर्सेस वर्तमान जिल्ला सभापति कर्णबहादुर मल्लको अवस्था छ । तर, देउवाले रोक्न खोज्दा खोज्दै दुई कार्यकाल जिल्लाको नेतृत्व सम्हालेका मल्ललाई पार्टी विधानले अब सभापति हुने सुविधा दिएको छैन । मल्ल रिङआउट भएसँगै डडेल्धुरामा अब नयाँ नेतृत्व आउने पक्का छ ।
शेरबहादुर देउवाले पर्शुराम नगरपालिका मेयर भीमबहादुर साउदलाई अगाडि सारेको अवस्था छ । देउवा टीमबाट सभापतिका आकांक्षी रघुवर भट्ट र गोविन्द बोहोराले साउदलाई समर्थन गरिसकेका छन् भने नवलबहादुर मल्लको दाबी पनि कायमै छ ।
देउवाले काठमाडौंबाटै भीमबहादुर साउदलाई सभापतिको उम्मेवारका रुपमा जिल्ला पठाइसकेकाले मल्ल ‘ब्याक’ हुने सम्भावना बढेको छ । उता, देउवाका उम्मेद्वार भीमबहादुर साउदसँग कर्ण मल्लले वर्तमान उपसभापति करुणकर भट्टलाई प्रतिस्पर्धामा उभ्याउने रणनीति बनाएको देखिन्छ ।
डोटी
तत्कालीन सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको राजधानी रहेको डोटीमा जिल्ला सभापति हुन नेताहरुले आन्तरिक रणनीति बनाउन थालेका छन् ।
वर्तमान सभापति प्रदीप देउवा आफैं दोहोरिने योजनामा छन् । यस्तै नेताहरु सीताराम जोशी, रामप्रसाद उपाध्यक्ष, दीपक विष्ट र भूमिराज बडू पनि सभापतिको लाइनमा छन् । उनीहरु सबै सभापति देउवा टीमका सभापतिका आकांक्षी हुन् ।
डोटीमा पौडेल पक्षको उपस्थिति नगन्य छ । १३ औं महाधिवेशनमा डोटीबाट पौडेल पक्षका एकजना मात्रै प्रतिनिधि आएका थिए ।
डोटीमा ‘देउवा भर्सेस देउवा’ हुने अवस्था छ । सभापतिका मुख्य दाबेदार वर्तामान सभापति देउवा र शिखर नगरपालिका मेयर जोशीबीच प्रतिस्पर्धा हुने सम्भावना बलियो छ ।
अछाम
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामध्ये दुईवटा निर्वाचन क्षेत्र भएको अछाममा आधा दर्जनले सभापति हुने आकांक्षा देखाएका छन् ।
देउवा टीमबाट वर्तमान सभापति भरतकुमार स्वारले दोहोरिन खोजेका छन् । यस्तै, पूर्वसभापतिद्वय पुष्पबहादुर शाह र मेघराज खड्काका साथै नेता गणेशबहादुर विष्टले पनि सभापतिका लागि लबिङ बढाएका छन् । केन्द्रमा शेरबहादुर देउवालाई नेता मान्ने उनीहरु जिल्लामा आ– आफ्नो कसरतमा छन् ।
देउवा खेमा दुई भागमा विभाजित हुने अवस्थामा पौडेल पक्ष निकट निवर्तमान प्रतिनिधिसभा सदस्य रामबहादुर विष्टको टोली मिल्ने आँकलन गरिएको छ ।
पौडेल पक्षबाट आजका दिनसम्म कोही पनि उम्मेदवारका रुपमा अगाडि आएको अवस्था छैन । यद्यपि बलबहादुर कुँवर, ध्वजबहादुर कुँवर र टीकाराम खनाललाई जिल्ला सभापतिको उम्मेदवारका रुपमा हेरिएको छ । पौडेल पक्षले उनीहरु मध्येबाट एकजनालाई अगाडि सार्ने सम्भावना देखिन्छ ।
बाजुरा
सुदूरपश्चिम प्रदेशको पिछडिएको जिल्ला बाजुरामा पनि काँग्रेस अधिवेशनको रौनक सुरु भइसकेको छ । पूर्वसभापति मनबहादुर रावल र वर्तमान सभापति कविराज पण्डित दोस्रोपटक जिल्ला सभापतिमा भिड्ने तयारीमा देखिन्छन् ।
अघिल्लो जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा पराजित रामसिंह रावल र महासमिति सदस्य प्रेमबहादुर शाहीले पनि सभापतिका लागि कार्यकर्तासँगको सम्पर्क र केन्द्रीय नेतृत्वसँगको लबिङ तीव्र पारेका छन् ।
देउवा टिमबाट पण्डित र शाही तथा पौडेल टिमबाट मनबहादुर र रामसिंहबीच जिल्ला सभापतिको उम्मेदवार बन्ने प्रतिस्पर्धा चलेको छ ।
बैतडी
नेपाली काँग्रेसको जिल्ला अधिवेशन नजिकिएसँगै बैतडीमा पनि जिल्ला सभापतिका दाबेदारहरु आन्तरिक योजना बुन्न लागिपरेका छन् ।
बैतडीमा वर्तमान सभापति नरेन्द्रसिंह थापा दोहोरिने योजनामा छन् भने उपसभापति चतुरबहादुर चन्द र सचिव वीरबहादुर विष्ट पनि सभापति बन्ने लविङमा छन् । यस्तै, पूर्वसभापति शिवराज भट्ट पनि पुनः सभापति भन्ने दौडमा छन् ।
वर्तमान सभापति थापा र उपसभापति चन्द्र पौडेल टिमबाट चुनावी मैदानमा उत्रिन खोजिरहेको अवस्था छ भने देउवा टिमबाट भट्ट र विष्टले सभापतिको लबिङ गरिरहेका छन् । यसमध्ये पनि पौडेल टीमबाट चन्द्र र देउवा खेमाबाट पुराना नेता भट्टबीच प्रतिस्पर्धा हुने सम्भावना बढी रहेको नेताहरु बताउँछन् ।
दार्चुला
सुदूरपश्चिमा पौडेल पक्षको सबैभन्दा बलियो उपस्थिति रहेको दार्चुलामा आधा दर्जन नेताहरु सभापतिका आकांक्षी देखिएका छन् । पौडेल पक्षीय केन्द्रीय सदस्य दिलेन्द्र बडूको गृहजिल्ला दार्चुलामा देउवा पक्ष केही कमजोर छ ।
वर्तमान सभापति ललितसिंह बोहोरा, १३ औं जिल्ला अधिवेशनमा पराजित विक्रम धामी, पूर्वसभापति जगदीश पाल, उपभापति अमर धामी, सचिव हर्क बिष्टलगायतका नेताहरुलाई जिल्ला सभापतिका दाबेदारका रुपमा हेरिएको छ ।
पौडेल पक्षबाट वर्तमान सभापति बोहोरा, उसभापति धामी, सचिव विष्टबीच सभापतिका लागि रस्साकस्सी छ । यस्तै, देउवा टीमबाट विक्रम धामी र पाललगायतलाई सभापतिको उम्मेद्वारका रुपमा हेरिएको छ ।
बझाङ
बझाङमा सभापति देउवा पक्षको उपस्थिति बलियो देखिन्छ । त्यहीअनुसार सभापतिका आकांक्षी पनि देउवा टिममै बढी छन् ।
सभापतिको उम्मेदवारमा वर्तमान सभापति हर्कजंग बहादुर सिंह, पूर्वसभापति पृथ्वीबहादुर सिंह, पूर्वसभापति (काँग्रेस प्रजातान्त्रिक) चेतराज बजाल, पूर्वउसभापति देवराज शर्मा र नेता जगत जोशीको नाम चर्चामा छ ।
यस्तै गत जिल्ला अधिवेशनमा सभापतिका प्रत्यासी खडगबहादुर बोहोरा र रमेश भण्डारी पनि सभापतिका बलिया दाबेदार हुन् ।
बोहोरा गत जिल्ला अधिवेशनमा पहिलो चरणमा प्रथम भए पनि दोस्रो चरणमा पराजित भएका थिए । सभापतिका प्रत्यासी भण्डारी तेस्रो भएका थिए ।
पौडेल पक्षबाट पूर्वसभापति सत्यराज भण्डारी र पूर्वसांसद चन्दा जोशीलाई सभापतिको उम्मेदवारका रुपमा हेरिएको छ ।