नेपाली कांग्रेस महाधिवेशन नजिकिँदै गर्दा सुदूरपश्चिम प्रदेशमा उम्मेदवार छनोटको सरगर्मी बढेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको ‘गृहप्रदेश’ भएका कारण पनि यहाँ उम्मेदवार छनोटको चर्चा बढी छ । यो प्रदेशका ९ जिल्लामा ३० जना भन्दा बढीले सभापतिमा दाबी प्रस्तुत गरेका छन् ।
१३ औं महाधिवेशनमा ९ जिल्लामध्ये ६ जिल्लाका सभापतिमा देउवा निकट नेता निर्वाचित भएका थिए । दार्चुला, बैतडी र देउवाकै गृहजिल्ला डडेल्धुरामा भने देउवानिकट नेता पराजित भएका थिए । अहिले गृह प्रदेशमा उपस्थिति अझै बलियो बनाउन देउवाले चुनाव जित्ने नेतालाई टिकट दिने गरी तयारी थालिरहेका छन् । उता पौडेलका नेताहरू पनि आन्तरिक रुपमा महाधिवेशनको तीब्र तयारी जुटेका छन् ।
कैलालीमा अधिवेशनको सरगर्मी बढी छ । सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलालीमा आधा दर्जन बढी नेता सभापतिकोको दौडमा छन् । वर्तमान जिल्ला सभापति नरनारायण शाह (मनु) ले दुई कार्यकाल पार्टी सभापति पदको जिम्मेवारी पूरा गरिसकेका छन् । उनलाई तेस्रोपटक जिल्ला सभापतिको नेतृत्व लिन पार्टी विधानले मिल्दैन ।
सभापतिका आकांक्षीहरुको संख्या पनि धेरै रहेको विश्लेषण हुने गरेको छ । यस्तोमा हालका उपसभापति प्रकाश बम र महासमिति सदस्य एबम् पूर्व उपसभापति नारायणदत्त भट्ट खुलेरै प्रचार–प्रसारमा जुटिसकेको चर्चा छ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता डा.रण बहादुर रावलले पनि आकांक्षा देखाईरहेको चर्चा छ । उनी १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित उम्मेदवार समेत हुन् । उनले आकांक्षालाई ‘हेविवेट’ तवरबाट हेरिएको छ ।
पार्टी सभापतिको लाईनमा धनगढी उपमहानगरपालिकाका मेयर नृपवहादुर ओड पनि रहेका छन् । हाल नेपाली काग्रेंस धनगढी नगर समितिको सभापति रहेका उनी जिल्ला सभापतिमा ईच्छुक रहेका छन् । त्यसका लागि उनले लबिंग पनि गरिरहेका छन् । त्यसैगरी कोईराला पक्षबाट अध्यक्षमा गणेश देउवाको नाम पनि चर्चामा रहेको छ ।
सभापति देउवा गृहजिल्ला डडेल्धुरामा सबैभन्दा बलिया नेतालाई सभापतिमा उठाउने योजनामा छन् । त्यसको लागि देउवाले पर्शुराम नगरपालिका मेयर भीमबहादुर साउदलाई अगाडि सारेका छन् । देउवालाई अहिले पनि वर्तमान जिल्ला सभापति कर्णबहादुर मल्लले काउन्टर दिने योजनामा छन् ।
दुई कार्यकाल जिल्लाको नेतृत्व सम्हालेका मल्ल सभापति उठ्न पाउने छैनन् तर उनले सभापति देउवाका उम्मेदवार हराउने नेता खोजिरहेका छन् । साउदसँग मल्लले वर्तमान उपसभापति करुणकर भट्टलाई प्रतिस्पर्धामा उभ्याउने रणनीति बनाएको देखिन्छ । देउवा टीमबाट रघुवर भट्ट र गोविन्द बोहराले साउदलाई समर्थन गरिसकेका छन् । तर, देउवा समूहबाटै नवलबहादुर मल्लको दाबी पनि कायमै छ ।
कञ्चनपुरमा वर्तमान सभापति हरि बोहराले दोस्रो कार्यकाल जिल्ला सभापति हुने आकांक्षा राखेका छन् । पदम बोगटी पनि सभापतिको उम्मेदवार बन्ने चर्चा छ । यस्तै, बहादुर सिंह थापाको नाम पनि चर्चामा छ । एनपी साउद निकट बोगटी र थापा सभापतिको दौडमा छन् । रमेश लेखक निकट बोहरा पनि सभापतिका आकांक्षी हुन् ।
डोटीमा वर्तमान सभापति प्रदीप देउवा पुनः सभापतिको आकांक्षी देखिएका छन् । उनीबाहेक सीताराम जोशी, रामप्रसाद उपाध्यक्ष, दीपक विष्ट र भूमिराज बडू पनि सभापतिको लाइनमा छन् । उनीहरु सभापति देउवा समूहका सभापतिका आकांक्षी हुन् ।
अछाममा वर्तमान सभापति भरतकुमार स्वाँर पुन सभापति हुने दाउमा छन् । पुष्पबहादुर शाह, मेघराज खड्का र गणेशबहादुर विष्ट पनि सभापतिको दौडमा देखिएका छन् । उनीहरु पनि देउवा निकट हुन् ।
अछाममा पौडेल पक्ष कमजोर देखिएको छ । पौडेल पक्षले बलबहादुर कुँवर, ध्वजबहादुर कुँवर र टीकाराम खनाल मध्ये एक जनालाई सभापतिको रुपमा उठाउने देखिएको छ । बाजुरामा मनबहादुर रावल र कविराज पण्डित सभापतिको दौडमा छन् । रावल पूर्व र पण्डित वर्तमान सभापति हुन् ।
रावल पौडेल र पण्डित देउवा पक्षका हुन् । रामसिंह रावल र प्रेमबहादुर शाही पनि लबिङमा छन् । बैतडीमा वर्तमान सभापति नरेन्द्रसिंह थापा पुन सभापति बन्ने दौडमा छन् । उपसभापति चतुर बहादुर चन्द र सचिव वीरबहादुर विष्ट भने थापालाई पन्छाएर आफू सभापति बन्ने लाइनमा छन् ।
दार्चुलामा आधा दर्जन नेताहरू सभापतिका आकांक्षी देखिएका छन् । पौडेल पक्षको लागि प्रदेशमा सबै भन्दा बलियो जिल्ला दार्चुला हो । त्यस्तै ललितसिंह बोहरा, विक्रम धामी, जगदीश पाल, अमर धामी, हर्क विष्ट लगायतका नेताहरूलाई जिल्ला सभापतिका दाबेदारका रुपमा हेरिएको छ ।
पौडेल पक्षबाट बोहरा, धामी र बिस्टबीच सभापतिका लागि रस्साकस्सी छ । यस्तै, देउवा टीमबाट विक्रम धामी र पाललगायतलाई सभापतिको उम्मेदवारका रुपमा हेरिएको छ । बझाङमा हर्कजंग बहादुर सिंह, पृथ्वीबहादुर सिंह, चेतराज बजाल, देवराज शर्मा र जगत जोशीको नाम चर्चामा छ । यस्तै खड्गबहादुर बोहरा र रमेश भण्डारी पनि सभापतिका बलिया दाबेदार हुन् । उनीहरु देउवा पक्षका हुन् । पौडेल पक्षबाट सत्यराज भण्डारी र चन्दा जोशीलाई सभापतिको उम्मेदवारका रुपमा हेरिएको छ ।