पूर्वपश्चिम राजमार्ग अन्तर्गतको गड्डाचौकी–चिसापानी खण्ड विस्तार टुक्रे योजनामै सीमित
2021/07/09, 9:55
 
aa

पूर्वपश्चिम राजमार्ग चौडा पार्ने योजनाअनुसार गड्डाचौकी–चिसापानी खण्डमा पनि काम सुरु भएको ६ वर्ष भयो । न्यून बजेटका कारण सडक विस्तारको काम टुक्रे योजनामै सीमित हुन पुगेको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले माटो भरानदेखि राजमार्ग क्षेत्रका बजारहरूमा कालोपत्रको काम गरिरहेको छ । 

मुख्य चौराहाहरू, भीडभाड हुने स्थान र बजार क्षेत्रमा सडक कालोपत्र तथा माटो भरानको काम भइरहेको छ । हालसम्म १५ किलोमिटरमा माटो भरान र नौ किलोमिटर सडक चार लेनमा कालोपत्र गरिएको छ । ‘अहिले ६ लेनका लागि आवश्यक पर्ने चौडाइमा माटो भरान, कल्भर्ट र ह्युमपाइप चौडा पार्ने काम भइरहेको छ,’ सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख डिभिजनल इन्जिनियर नरेन्द्र भट्टले भने, ‘आवश्यकताअनुसार बढी भीडभाड हुने र सहरी क्षेत्रमा कालोपत्र पनि गरिरहेका छौं ।’ उनका अनुसार हालसम्म १२ वटा कल्भर्ट र ह्युमपाइप ६ लेनका लागि पुग्ने गरी चौडा पारिएको छ । थप १० वटाको काम चलिरहेको छ ।

अहिले गड्डाचौकीदेखि वेदकोट नगरपालिकाको दैजी चौराहासम्म माटो भरान र कालोपत्रको काम चलिरहेको भट्टले बताए । उनका अनुसार गड्डाचौकी महेन्द्रनगर खण्डमा कल्भर्ट र ह्युमपाइप चौडा पार्ने काम चलिरहेको हो । ‘एकै पटक ठूलो मात्रामा ठेक्का दिने गरी कार्यक्रम आएको छैन,’ डिभिजनल इन्जिनियर भट्टले भने, ‘थोरै बजेट आउँछ, त्यसैबाट माटो भरान र कालोपत्रको काम गरिरहेका छौं ।’

उनका अनुसार सडक मर्मत तथा विस्तार कार्यक्रमअन्तर्गत बर्सेनि अलिअलि बजेट आउने गरेको छ । चालु आर्थिक वर्षमा ८ करोड बजेट आएको थियो । त्यसैबाट अलिअलि माटो भरान र सडक कालोपत्रसँगै कल्भर्ट र ह्युमपाइप चौडा पार्ने काम गरिएको छ ।