कैलालीमा अन्तर जातीय विवाह गर्ने जोडीको जंगलमा बास, जीवन बचाउन अपिल (भिडियो सहित)
2021/07/09, 2:43
 
dd

अन्तरजातीय विवाह गरेका कारण धम्की आएको दाबी गर्दै कैलालीबाट नव दम्पतीले सामाजिक सञ्जाल (ट्विटर) मा भिडियो पोस्ट गरेका छन् । ट्विटर मार्फत सार्वजनिक सो भिडियो कैलालीको जङ्गलबाट पोस्ट गरेको दाबी गरिएको छ ।

कैलालीको भजनी नगरपालिका–४ झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावल अन्तरजातीय विवाहका कारण जङ्गलमा लुक्न बाध्य भएका हुन् । प्रकाशको आफन्तले दिएको जानकारी गराउँदै अधिकारकर्मी जेबी विश्वकर्माले सो भिडियो आफ्नो ट्विटर ह्यान्डलबाट पोस्ट गरेका छन् । 

भिडियोमा प्रकाशले विवाह गरेपछि परिवारले नमानेको हुनाले जङ्गलमा आउनुपरेको बताएका छन् । मालतीले भनेकी छिन–‘हामीलाई धम्की दिएका छन् ।’ रुकुम पश्चिममा भएको घटना दोहोरिने धम्कीपूर्ण म्यासेज आएको जानकारी गराउँदै उनीहरूले जीवन बचाउन अपिल गरेका छन् । अन्तर जातीय विवाहका कारण भएको झडपमा रुकुम पश्चिममा जाजरकोटका २१ वर्षीय नवराज विक सहित ६ जनाको ज्यान गएको थियो । 

दम्पतीले आफूहरूले प्रेम गरेर विवाह गरेको र मालतीको पेटमा बच्चा भएको उल्लेख गर्दै टाढा हुन नचाहेको बताएका छन् । घटनाबारे जानकारी नभएको कैलालीका एसपी विश्व अधिकारीले बताए । अधिकारीले भने–‘अहिलेसम्म घटना जानकारीमा थिएन, यसबारे बुझेर अनुसन्धान अगाडी बढाउँछु ।’