असार यता सुदूरपश्चिमका दुई नाकाबाट २९ हजार नेपाली भारत पसे
2021/07/10, 1:20
 
aa

भारतमा काम नपाउँदा घर फर्कनेको संख्या बढ्दै गएपनि जानेको संख्यापनि उत्तिकै बढी छ । कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोकथाम गर्न भारतका बिभिन्न क्षेत्रहरुमा बन्दाबन्दी गरिएको छ। बन्दाबन्दीसँगै होटेललगायतका उद्योग व्यवसाय बन्दा हुँदा त्यहाँ कार्यरत नेपालिहरु स्वदेश फर्किरहेका बेला  भारत पस्नेको संख्या पनि बढ्दै गईरहेको छ ।

सुदूरपश्चिमका मुख्य दुई नाका गौरीफन्टा र गड्डाचौकीबाट दिनहु हजारौँ नेपाली नागरहरु कामको खाजीमा भारत पसिरहेका छन् ।पछिल्लो समय कोरोना भाइरसको संक्रमण केही घटेपछि सुदूरपश्चिमका नाकाबाट भारत जानेको सङ्ख्या बढ्दै गएको छ । धनगढीको फूलवारीका डम्बर लिसानी कोरोना संक्रमण बढेपछि नेपाल फर्किएका थिए ।

शुक्रबार साँझ गौरीफन्टा नाका हुँदै उनी पुन भारत गएका हुन् । ‘बिहान बेलुकाको छाक टार्न समस्या भयो बालबच्चा पाल्नकै लागि भए पनि भारत नै जानुपर्ने बाध्यता छ,’ लिसानीले भने, ‘स्वदेशमै रोजगार पाए त किन जाने थिएँ र ?’ नेपालमा रोजगारी नपाएपछि भारत जानु परेको उनले बताए ।

यस्तै धनगढी १ का गणेश बिक पनि गौरीफन्टा नाका हुँदै शुक्रबार भारतको बैङ्गलोर गए । उनी यसअघि पनि बैङ्गलोरको होटलमा काम गर्थे । भारतमा कोरोना संक्रमण बढेपछि नेपाल फर्किएका उनी पुनः भारत पसेका हुन् ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार असार पहिलो सातादेखि भारत जाने नेपालीको सङ्ख्या बढेको जनाएको छ ।

अहिले नेपाल आउनेको तुलनामा तीन गुणा बढी भारत गइरहेका छन् । यहाँकोे गौरीफन्टा र गड्डाचौकी नाका भएर दैनिक करिब २ हजार नेपालीहरू भारत प्रवेश गरिरहेका छन् । शुक्रबारमात्रै भारतबाट २ सय ६३ नेपाल फर्किएका थिए भने १७ सय ८७ जना भारत गएका छन् ।

कञ्चनपुरस्थित प्रहरी चौकी पचगडीयाका इन्चार्ज खडकजंग शाहीका अनुसार पछिल्लो समय नेपाल भित्रिने भन्दा बाहिरिनेको सङ्ख्या बढी रहेको जनाएको छ ।   असार १ गतेदेखि २५ गतेसम्म भारतबाट ६ हजार ९ सय ९६ जना नेपाल फर्केकामा २९ हजार १ सय ८३ जना गौरीफन्टा र गड्डाचौकी नाकाबाट भारत पसेको प्रहरी चौकी पचगडीयाका इन्चार्ज   शाहीले बताए ।

भारतमा कति नेपालीले रोजगारी गरिरहेका छन् भन्ने यकिन तथ्याङ्क कसैसँग नभए पनि सुदूरपश्चिम प्रदेशको जनसङ्ख्याको करीब २५ प्रतिशत नेपालीले भारतमा काम गरिरहेको अनुमान छ।