अन्तरजातीय विवाह गरेर २१ दिनसम्म लुकेर बसेका प्रकाश विश्वकर्मा र मालती रावलका परिवारबीच आपसी विवादको त्रास बढेको छ । शुक्रबार घर फर्किएपछि प्रकाशबाट जबर्जस्ती छुट्याएर युवतीका आफन्तले मालतीलाई लिएर गएका थिए ।
घर पुग्नेबित्तिकै सोधपुछ गर्ने बाहना बनाएर मालतीलाई उठाएर घरका परिवारले लिएपछि पनि युवकका आफन्तले आक्रमण गर्न सक्ने त्रासमा परेका हुन् । त्यसअघि पनि मालतीका आफन्तले प्रकाशलाई निरन्तर ज्यान मार्ने धम्की दिँदै आएका थिए । सोही कारण उनीहरुले भिडियो बनाएर ज्यान बचाउन सार्वजनिक रुपमा आग्रह गरेका थिए ।
सो भिडियो बाहिरिएपछि प्रकाश र मालतीको अन्तरजातीय विवाह र उनीहरुले पाएको पीडा सञ्चारमाध्यममा आएको थियो । त्यसपछि प्रहरीले समेत प्रकाश र मालतीका बारेमा निगरानी सुरु गरेको थियो ।
तर विवाह गरेपछि निरन्तर धम्की दिँदै आएका युवतीका आफन्तले छोरी लिएर गएपछि पनि धम्की दिन थालेका युवकका आफन्तका परिवारले बताएका छन् । ‘हाम्रो इज्जतमा हात हालेको भन्दै’ उनीहरुले प्रकाशलाई पिट्ने र प्रकाशका परिवारमाथि आक्रमण गर्ने जोखिम कायमै रहेको कैलालीका दलित अभियान्ता विजय विश्वकर्माले बताए ।
‘यसअघि फोन र फेसबुक मेसेन्जरबाट प्रकाशलाई धम्की आएको थियो’ उनले भने, ‘अहिले परिवारका सदस्यलाई धम्की आउन थालेको छ । विभेदसँगै हाम्रो घरको इज्जतमाथि हात हालेको भन्दै धम्की आउन थालेको छ । प्रत्यक्ष नभएपनि अप्रत्यक्ष उनीहरुका आफन्तमार्फत धम्की आइरहेको छ ।’
प्रकाशका बुवा मुटुरोगी बिरामी भएकाले पनि त्रास झन् बढेको उनको भनाइ छ । उमेर नपुगेपनि विवाह गरेका प्रकाश र मालतीमाथि जातीय विभेद भएको भन्दै प्रहरीमा उजुरी दर्ता गर्ने अभियान्ताको तयारी छ । तर इलाका प्रहरी कार्यालय भजनीले जातीय विभेदको उजुरी दर्ता गर्न अस्वीकार गरेको छ ।