नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतको फैसलाले संविधान रक्षा गर्ने अभियान सफल भएको बताएका छन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गरेसँगै उनले फेसबुकमार्फत संविधान र संसदलाई दुर्घटनामा लैजाने प्रयास असफल भएको दाबी गरेका छन्। ‘संविधान रक्षा गर्ने हाम्रो अभियान सफल भयो ।’ उनले लेखेका लेखेका छन्,‘संविधान र संसदलाई दुर्घटनामा लैजाने प्रयास असफल भएको छ ।’
सर्वोच्च अदालतले दोस्रो पटक विघटन भएको प्रतिनिधिसभा पुर्स्थापित गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्चले बदर गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गरेको हो। बहुमत सांसदको समर्थन भएकोले विपक्षी नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चले परमादेश जारी गरेको छ। सात दिनभित्र संसद् अधिवेशन बोलाउन सर्वोच्च अदालतको आदेश दिएको छ।
सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्न समर्थन गरेको आधारमा दल त्याग सम्बन्धी कारवाही गर्न नमिल्ने जनाएको छ। प्रतिनिधिसभा पुनर्स्थापनाको आदेश जारी गर्दै सर्वोच्चले प्रतिनिधि सभाका कुनै पनि सदस्य उपर दल त्याग सम्बन्धी कारवाही नगर्नु, नगराउनु भन्दै आदेश दिएको छ। पौडेलले प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न आदेश दिएपछि बधाईसमेत दिएका छन्। उनले लेखेका छन्,‘सर्वोच्चका न्यायमुर्तिलाई धन्यवाद र मेरा मित्र पार्टी सभापति शेरबहादुर देउवालाई हार्दिक बधाई !’