सोमबार बिहान भजनी नगरपालिका उपप्रमुख छाया देवकोटाको नेतृत्वका नगरपालिकामा लगाएको ताला नखुल्दा नगर सभा प्रभावित भएको छ ।
सोमबार बिहान १० बजे नगर सभाको आयोजना गरिएको थियो । योजना तर्जुमा नै नगरी बजेट तयार गरेर नगर सभा आयोजना गरिएको भन्दै उपप्रमुख देवकोटा सहित वडा नम्बर १ का अध्यक्ष रबिन थापा, ५ का अध्यक्ष केशव बहादुर बुढा र ३ का अध्यक्ष विक्रम चौधरीले सोमबार बिहान तालाबन्दी गरेका हुन् ।
नगरपालिकाको कार्यालयमा तालाबन्दी भएपछि सोमबार नगर सभा आयोजना हुन सकेन। वार्ता टोली निर्माण गर्ने विषयमा सहमति नभएपछि नगरपालिकामा लगाइएको ताला सोमबार नखुलेको हो । नगरप्रमुख वार्ता बस्न सहमत भए पनि वार्ता टोलीको विषयमा सहमति हुन नसकेको उपप्रमुख देवकोटाले बताइन् ।
‘उहाँहरूले सबै कार्यपालिकाका सदस्यहरू वार्ता बस्ने भन्नुभयो हामीले कार्यपालिकाको बैठक होइन सानो समूह बनाउनु होस् भन्यौँ त्यसैमा कुरा रोकिएको छ’ उनले जानकारी दिइन् ।
दुवै पक्षबाट बढीमा ५÷५ जनाको वार्ता टोली बनाएर सहमति गर्न सकिने उनले बताइन् । मङ्गलवार पनि तालाबन्दी कायमै रहेको उपप्रमुख देवकोटाले बताइन् ।