देउवाको गृहप्रदेश सुदूरपश्चिममा कतै खुसीयाली त कतै पुत्ला दहन
2021/07/13, 10:26
 
dd

सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गर्दै कांग्रेस सभापती शेरबहादुर देउबालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि सुदूरपश्चिम प्रदेशमा खुसीयाली मनाउन थालिएको छ।

देउवाको गृहप्रदेशमा खुसीयाली मनाइएको हो। देउवाको जन्मथलो गन्यापधुरामा पनि सोमबार नेपाली कांग्रेस गन्यापधुरा गाउँ कमिटिले खुसीयाली स्वरुप बिभिन्न कार्यक्रमको आयोजना गरेको छ। कमिटिले सर्वाेच्चको फैसला स्वागत योग्य भएको बताउँदै खुसीयाली मनाएको जनाएको छ। 

यता कैलालीमा परामादेशको स्वागत गर्दै दिप प्रज्वलन गरिएको छ। नेपाल तरुण दल गोदावरी नगर कार्यसमिति र नेपाल विद्यार्थी संघ कैलाली क्षेत्र नम्बर ४ ले सर्वोच्च अदालतले गरेको कांग्रेस सभापति देउवालाई असार २९ गते साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न जारी गरिएको परामादेशको स्वागत गर्दै दिप प्रज्वलन गरेको हो। 

देउवाको गृहप्रदेशमा अदालतको परमादेशको विरोध पनि भइरहेको छ। धनगढीमा अदालतको फैसलाविरुद्ध राके जुलुससहित प्रधानन्यायाधीशको पुत्ला दहन गरिएको छ।

प्रतिनिधि सभा विघटनलाई बदर गर्दै प्रधानमन्त्रीमा देउवलाई नियुक्त गर्न अदालतले राष्ट्रपतिको नाममा परमादेश जारी गरेपछि एमालेको केपी शर्मा ओली पक्षीय राष्ट्रिय युवा संघ र अनेरास्ववीयूले राके जुलुससहित प्रदर्शन गरेका हुन्।