बैतडीका स्थानीय सञ्चार सेवाबाट बञ्चित भएका छन्। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ९ सल्लेवासाका स्थानीय सञ्चार सेवाबाट बञ्चित भएका हुन्। सुर्नया गाउँपालिका वडा नम्बर ५ धुलिधारमा नेपाल टेलिकमको टावर भएपनि घाम लागेको बेला मात्रै काम गर्ने गरेको सल्लेवासाका स्थानीय केशव महराले बताए। ‘टेलिकमको टावर त छ, तर घाम लागेको दिन मात्रै काम गर्छ,’ उनले भने, ‘राति त कहिल्यै पनि काम गर्दैन।’
पाटन नगरपालिकाकै वडा नम्बर ९ मानिकाखानमा निर्माण भएको टावरसमेत सूचारु नहुँदा स्थानीयले सञ्चार सेवाबाट बञ्चित हुनु परेको अर्जुन महराले बताए। यता नेपाल टेलिकमले भने उक्त टावर सोलारबाट सञ्चालन भएका कारण सो समस्या देखिएको जनाएको छ। नेपाल टेलिकम डडेल्धुरा शाखाका ईन्जिनीयर प्रकाशराज भट्टले मानिकाखानमा रहेको टावर दुई महिना भित्र सूचारु हुने बताए। टावर पूर्ण रुपमा सूचारु भएपछि उक्त समस्या समाधान हुने विश्वास लिइएको छ।