रोटरी क्लब अफ धनगढीले ९९ वटा अक्सिजन कन्सन्ट्रेटर वितरण गरेको छ । प्रदेशका ९ जिल्ला र कर्णाली प्रदेशका २ जिल्ला गरी ९९ वटा कन्सन्ट्रेटर वितरण गरिएको हो ।
दोस्रो भेरियन्टको कारोना भाइरस महामारीका रुपमा फैलिएपछि प्रदेशका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा अक्सिजनको अभाव सिर्जना भएको थियो। सोही समस्यालाई केही न्यूनिकरण गर्न रोटरी क्लब अफ धनगढीले सय थान कन्सन्ट्रेटर अभियान सञ्चालन गरेको थियो । सो अभियानमा रोटरियान, व्यक्ति तथा संघ संस्थाहरुले सहयोग गरेका थिए। सोही रकमबाट खरिद गरिएका कन्सन्ट्रेटर वितरण गरिएको अभियान संयोजक प्रकाशचन्द्र भट्टले बताए ।
क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै उक्त विवरण सार्वजनिक गरेको हो । खरिद गरिएका कन्सन्ट्रेटर मध्ये कैलालीमा ३२, कञ्चनपुरमा ११, दार्चुलामा १०, बझाङमा ९, बैतडीमा ८, अछाममा ८, डडेल्धुरामा ७, डोटीमा ५, बाजुरामा ५, त्यस्तै बाँके र बर्दियामा २÷२ थान उपलब्ध गराएको तत्कालिन अध्यक्ष तोयराज भट्टले बताए ।
सय थान कन्सन्ट्रेटर अभियान अन्तरगत रोटरियनबाट ३३ लाख ९६ हजार बढी रकम संकलन भएको थियो भने व्यक्ति र संघ संस्थाहरुमा एक करोड ६ लाख ७ हजार बढी रकम संकलन भएको क्लबका अध्यक्ष दीपक उपाध्यायले बताए । संकलित रकममध्ये कन्सन्ट्रेटर खरिद, ढुवानी र वितरणमा एक करोड ६ लाख ६४ हजार खर्च भएको उनले बताए ।
यस्तै एन–९५ मास्क खरिद तथा छपाईमा ३ लाख ४३ हजार खर्च भएको क्लबले जनाएको छ । अब २९ लाख ९६ हजार क्लबको खातामा मौज्दात रहेको अध्यक्ष उपाध्यायले बताए । रोटरी क्लब सामाजिक कार्यमा सक्रिय हुँदै आएको संस्थाको रुपमा समेत चिनिदै आएको छ ।