ताक्लाकोट बजार दुई वर्ष देखि बन्द, नेपाली व्यापारी मर्कामा
2021/07/13, 10:16
 
aa

चीनको ताक्लाकोटमा व्यवसाय गर्दै आएका दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुका दीपक सिंह बोहराले ताक्लाकोट नटेकेको दुई वर्ष भयो । ताक्लाकोटमा सरकारी र निजी सटर भाडामा लिएर व्यवसाय गर्दै आएका बोहरा कोरोनाका कारण चीन सरकारले ताक्लाकोट बजारसंग नेपाल–तिब्बत सीमा बन्द गरेयता ताक्लाकोट टेक्न पाएका छैनन ।

ताक्लाकोट अझै खुल्ने÷ नखुल्ने अन्यौल छ । यो अन्यौलताले बोहरासंग सयौ नेपाली व्यापारी चिन्तित छन् । छाङरुबाट करीव एक दिनको दूरीमा रहेको ताक्लाकोटमा यहाँका ६० भन्दा व्यक्तिको व्यापार छ । ४० जनाभन्दा बढिले त सटर र गोदाम भाडामा लिएर लामो समयदेखि व्यवसाय गर्दै आएका छन् । बोहरा भन्छन्, अव बजार खुलेपनि एकै पटक दुई वर्षको भाडा कसरी तिर्ने होला ?

कोरोनापछि ताक्लाकोट प्रवेशमा निषेध छ । कोही पनि नेपाली कोरोनाको संक्रमण फैलिए यता ताक्लाकोट प्रवेश गर्न पाएका छैनन । न त उनीहरुले पसल र गोदामभित्र रहेको सामानको अवस्था बुझ्न वा हेर्न पाएका छन् । नेपाली व्यवयसायीहरुलाई एकातिर दुई वर्षको भाडा कसरी तिर्ने भन्ने चिन्ता छ । अर्कोतिर सटर र गोदाम भित्र रहेका सामानहरु सद्दे अवस्थामा होलान कि नहोलान भन्ने चिन्ता छ ?

बोहरा भन्छन्, दुई वर्षदेखि सटर र गोदामभित्र थन्किएका कतिपय सामानको म्याद गुज्रिसक्यो । कतिपय सामान मुसाले खाईसके होलान । बजार खुलेपनि शुन्यबाट व्यवसाय शुरु गर्नुपर्ने अवस्था छ । यस्तोमा कसरी व्यवसाय संचालन गर्ने होला भन्ने नेपाली व्यापारीहरुको चिन्ता छ । यो समय बोहरा व्यापारबाट एकछिन फुर्सद पाउदैनथे ।

उनलाई ताक्लाकोटमा व्यापार गर्न भ्याई नभ्याई हुन्थ्यो । छाङरुस्थित घरमा भेटिएका बोहराले भने, दुई वर्ष यता भने फुर्सदमा छु । छाङरुका योगेश बोहराको चिन्ता पनि दीपक सिंह बोहरा भन्दा फरक छैन । योगेश ६ महिना ताक्लाकोटमा व्यापार गर्थे । उनको तीन महिना दिल्ली र काठमाण्डौं सामान लिन आवात जावतमा बित्थ्यो । र तीन महिना घरमा बिताउथे ।

तर दुई वर्षयता भने उनको पुरै समय घरमा बितिरहेको छ । सधै व्यवसायमा व्यस्त रहने छाङरुका प्रल्हाद सिंह तिंकरी, पुष्कर सिंह लाला र करन सिंह बोहरा पनि दुई वर्षयता फुर्सदमा छन् । ताक्लाकोट कहिले खुल्ने हो अझै निश्चित छैन । योगेश भन्छन्, अझै कति समय यसरी बिताउनु पर्ने हो थाह छैन । छाङरु र तिंकरका अधिकांश परिवारको ताक्लाकोटमा व्यापार छ ।

त्यही व्यापारले उनीहरुको जीविका चलेको छ । त्यही व्यापारका भरमा उनीहरु सन्तानहरुलाई नेपाल र भारतका राम्रा विद्यालय र कलेजहरुमा पढाईरहेका छन् । दुई वर्षदेखि व्यापार ठप्प भएपछि जीविका कसरी चलाउने चिन्तामा छौ, बोहरा भन्छन्, बन्द खुलेपनि भाडा कसरी तिर्ने ?व्यापार कसरी शुरु गर्ने भन्ने चिन्ता छदैछ ।

ताक्लाकोटमा दार्चुला, बझाङ र हुम्लाका ठूलो संख्यामा व्यापारीहरुले व्यवसाय गर्दै आएका छन् । नेपाली व्यापारीहरुले भारतको सामान तिब्बतमा लगेर व्यापार गर्नुका साथै तिब्बतको सामान भारतमा लगेर बेच्ने गरेका छन् । चीन सरकारले ताक्लाकोटमा बन्द अबधिको पसल र गोदामको भाडामा ७० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ ।

तर व्यक्तिका निजी सटरहरुको भाडामा छुट पाउने संभावना नरहेको बोहरा सुनाउछन् । उनी भन्छन्, दुई वर्षको सटर र गोदामको भाडा तिर्नुपर्दा त व्यवसाय सञ्चालन गर्ने अवस्था नै रहदैन । ताक्लाकोटमा व्यवसाय गर्दै आएका दार्चुलाको छाङरु र तिंकरका व्यवसायीहरु ताक्लाकोट बजार खुल्ने दिनको पखाईमा बसेका छन्,दीपक बोहरा भन्छन्, कोरोनाको कहरको अन्त्यसंगै ताक्लाकोट बजार छिट्टै खुल्ने छ । दुई वर्षदेखि सुनसान ताक्लाकोट फेरि पूर्ववत गुल्जार हुनेमा आशावादी छौ ।