बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर–१ रिमको खोलीमा गएको पहिरोका कारण ६ घर जोखिममा परेको तथा झण्डै ४० रोपनी खेतमा लगाइएको धान तथा मकैबाली नष्ट भएको छ। तर सरकारले क्षतिको विवरण हालसम्म संकलन नगरेको गुनासो स्थानीयले गरेका छन्।
गत असार २६ गते राति आएको पहिरोले रिमको खोली भन्ने ठाउँका ७ घर परिवार प्रभावित हुनुका साथै ४० रोपनी खेतमा लगाएको बाली नष्ट भएको विवरण संकलन गर्न गाउँमा कोही नआएको स्थानीयले गुनासो गरेका हुन्।
खोलीमाथि रहेको तेर्सो लेककोको डाडो फुटेर पहिरो आएको स्थानीय जगदिश जोशीले बताए। ‘रातभरको अविरल वर्षाका कारण गाउँमाथिको पुरै डाँडो फुटेर आएछ। भुकम्प आएजस्तो भएछि उठेर हेर्दा त घरहरु पहिरोको बीचमा परेको देखियो’ उनले भने, ‘एक घरको आधा पुरिएको छ। अन्य घरहरुमा पनि बस्नसकिने अवस्था छैन।’
पहिरोको कारण खेतमा लाएको बाली नष्ट भएको तथा घरहरुमा पनि क्षति भएकाले आफन्तहरुको घरमा बस्नुपरेको अर्का स्थानीय कृष्ण जोशीले बताए। वडा कार्यालयबाट वडा अध्यक्ष आएर हेरेर मात्र गएको तथा २७ गते ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट आएको प्रहरी टोलीले समेत क्षतिको विवरण संकलन नगरेको उनले बताए।
वर्षा भएर थप पहिरो गएमा घरमा पनि क्षति हुने चिन्ता स्थानीयको छ। तर बासस्थानको अभावले घरभित्र भएका खाद्यान्न लगायतको समान अन्यत्र सार्न नसकिएको उनीहरुले बताएका छन्।