कैलालीमा भएका तीन सडक दुर्घटनामा चार जनाको मृत्यु, दुई जना घाईते
2020/06/10, 9:51
 
acident

कैलालीमा भएका तीन सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ छुटेको बा ८ च २१०० नम्बरको कारको ठक्करबाट साइकलयात्री घोडाघाडी नगरपालिका–१ जनकपुरकी सोनिया चौधरी र उनका ५ वर्षीय छोरा कृष्टन चौधरीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक हरिशरण भट्टले बताए । 

आमा छोरालाई ठक्कर दिएर भागेको कारले घोडाघोडी नगरपालिका–१० का ४५ वर्षीय डबल शाह र लम्कीचुहा नगरपालिका–१० का ४० वर्षीय जयन्द्र सुनारलाई समेत ठक्कर दिई घाइते बनाएको छ । घाइते दुवै जनालाई सुखडकै घोडाघोडी अस्पतालमा समान्य उपचारपछि थप उपचारको लागि नेपालगञ्ज रेफर गरिएको छ । कारका चालक बर्दगोरिया गाउपालिका–१ का राजेन्द्र मल्ललाई भाग्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय मसुरियाले नियन्त्रणमा लिएको छ । कारको अगाडीको टायर पुरै घिस्रिएको छ ।
यस्तै कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिकाको बुढितोलबाट खानीडाँडा जादै गरेको सुदूरपश्चि प्रदेश ०१–००८ प ४०३९ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा चालक गोदावरी नगरपालिका वडा नम्वर ४ बस्ने २९ बर्षीय भक्त खनालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका खनालको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु बताए । 

उता लम्कीचुहा नगरपालिकामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । नम्वर नखुलेको ट्याक्टरले वडा नम्वर ८ स्थित पूर्वपश्चिम राजमार्गमा से ७ प ५९०५ नम्वरको मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको हो । मोटरसाइकल चालक लम्कीचुहा ९ बस्ने टेकराज घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा परी घाईते भएका उनको लालरत्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।