साउने संक्रान्ति पर्वकै दिन दुई नाकाबाट चार हजार नेपाली भारत पसे
2021/07/16, 4:14
 
dd

सुदूरपश्चिम प्रदेशका दुई नाका भएर साउने संक्रािन्तकै दिन चार हजारभन्दा बढी नेपाली भारत पसेका छन् । साउने संक्राान्ति पर्वकै दिन पश्चिम नेपालका दुई नाका गौरीफन्टा र गड्डाचौकी भएर झण्डै चार हजार नेपाली भारत पसेका हुन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार शुक्रबार दुई नाका भएर तीन हजार नौँ सय ९१ जना भारत पसेका छन् । सीमा नाकाबाट शुक्रबार भएको आवागमन विवरण अनुसार गौरीफन्टा नाका भएर एक हजार ६ सय ९० पुरुष, एक हजार ६ सय ९९ महिला र तीन सय १४ बालबालिका भारत पसेका छन् ।

गड्डाचौकी नाका भएर एक सय ९० पुरुष, ८६ महिला र १२ बालबालिका भारत गएका छन् । भारतबाट नेपाल फर्किनेको संख्या भने न्यून रहेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेको तथ्यांकमा उल्लेख छ । दुबै नाका भएर ६ सय ३८ जना नेपाल फर्किएका छन् ।

सुदूरपश्चिममा आज साउने सङ्क्रान्ति पर्व मनाउने गरिएको छ । असार महिनाभर धान रोपाइँ लगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी आजको दिन एकै ठाउँमा जम्मा भई भोज खाएर सङ्क्रान्ति पर्व मनाउने परम्परा रहेको छ । विशेषगरी यहाँका पहाडी जिल्लामा आजको दिन रोगव्याधि नलागोस् भनेर लुतो फाल्ने चलन छ । तर पवकै दिन पनि भारत जानेको संख्या भने कम हुन सकेन् ।