बाजुरामा ४६७ जनाको स्वाब सङ्कलन
2020/06/10, 12:37
 
korona

बाजुराका नौवटै स्थानीय तहका क्वारेन्टिनमा बसेका ४६७ जनाको स्वाब सङ्कलन गरिएको छ। भारतबाट आएका, आरडिटी पोजेटिभ देखिएका र कोरोना सङ्क्रमित भेटिएको क्वारेन्टिनमा बसेका शङ्कास्पद ४६७ जनाको स्वाब सङ्कलन गरिएको हो।

स्वाब सङ्कलन गरिएकामध्ये १०५ महिला र ३६२ पुरुष गरी ४६७ रहेको स्वास्थ्य कार्यालय बाजुराले बताएको छ। हाल जिल्लामा दुई जना आइसोलेसन श्यया छन् भने एक कोरोना सङ्क्रमित उपचार गराइरहेका छन्। यस्तै एक दुई वर्षकी बालिकाको कोरोनाकै कारण मृत्यु भइसकेको छ।

जिल्लामा हाल भिटिएम किट पनि २७ वटा मात्र बाँकी छन्। प्राप्त २५२ वटा खर्च भइसकेको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङ्क छ। हालसम्म एक हजार ९६८ को आरडिटी परीक्षण गरिएको जनाएको छ। जसमा ४०७ महिला र एक हजार ५६१ पुरुषको आरडिटी परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्लामा पछिल्लो केही सातादेखि स्थानीय तहले सबै ठाउँमा गरेर १६७ श्ययाको आइसोलेसन कक्ष बनाएका छन्। जिल्ला अस्पताल बाजुरामा १२ श्ययाको आइसोलेसनकक्ष रहेको छ भने त्रिवेणी नगरपालिकामा ६०, बूढीगङ्गा नगरपालिकामा ३५, खप्तड छेडेदह गाउँपालिकामा आठ, गौमुल गाउँपलिकामा १०, बडिमालिका नगरपालिकामा ३७, स्वामीकार्तिक खापर गाउँपालिकामा एक हिमाली गाउँपालिकामा दुई र बूढीनन्दा नगरपालिकामा दुई गरी १६७ श्ययाका आइसोलेसनकक्ष रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।