हुलाकी राजमार्ग अन्तर्गत कैलारी गाउँपालिका-५ पवेरा खण्डको कटैनी खोलामा अस्वभाविक उचाईमा पुल निर्माण गरिएको छ। कालोपत्रे गरिएको सडकभन्दा करिब दुई मिटर उचाइमा पुल बनेपछि पुलको छेउमा रहेको पवेरा मण्डीबजार र बस्तीलाई समस्या भएको हो। पुलको माथि गएर खोला तर्ने भने कोही हुँदैनन्।
हिलाम्य भए पनि अधिकांशले पुलमुनिकै बाटो प्रयोग गर्छन। जमिनको सतहभन्दा निकै उचाइमा बनेको पुल चढ्न समस्या भएपछि पुलमुनिकै बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्।सडकभन्दा निकै उचाइ बनेको पुलमा सवारीसाधन उक्लिन समस्या हुने चालकहरूको भनाइ छ।
पुलको छेउमै एउटा पक्की घर छ। त्यही घरको छत र पुलको उचाई लगभग बराबर देखिन्छ। पवेरा मण्डीका व्यापारी तपराज चौधरीका अनुसार ट्याक्टर, साइकल, गोरुगाडालगायत सवारीसाधन पुलमा उक्लिनै मुस्किल पर्छ।
‘गोरुगाडा र सामान बोकेका रिक्सा त चढाउनै सकिन्न,’ उनले भने, ‘लोड गरिएका ट्याक्टर पनि पुलमा चढ्न समस्या हुन्छ।’ ग्रामीण क्षेत्र भएकाले यो बाटोमा गोरुगाडा बढी चल्ने गर्छ। हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीले एक करोड २० लाख रुपैयाँ लागतमा पुल निर्माण गरेको हो। वर्षायामबाहेक अरू वेला खोलामा पानी नहुने भएकाले पुल प्रयोगविहीन अवस्थामा छ। अस्वाभाविक उचाइमा भएकाले पुल काम नलाग्ने बनेको स्थानीयको भनाइ छ।
पुल बनेपछि वर्षायाममा खोला तर्न सहज हुने आशा स्थानीयले गरे पनि वर्षामा पनि खोलाबाटै हिँड्नुपर्ने बाध्यता रहेको उनीहरूको दुःखेसो पोख्छन्। पुल चढ्न गाह्रो हुने भएकाले वर्षायाममा पनि अधिकांशले खोलाकै बाटो प्रयोग गरेका स्थानीय पल्टुराम चौधरी बताउँछन्। पुलको उचाइ अनुसार सडक उठाउँदा पुल छेउछाउका घर र मण्डी बजारका केही पसलको बाटो नै बन्द हुने स्थानीयले बताएका छन्।
बाटो उठाउँदा सडकमाथि र घरहरू निकै तल पर्ने स्थानीय पल्टुराम चौधरीको भनाई छ। कल्भर्ट राख्नुपर्ने ठाउँमा पुल खोलाको सतहबाट साढे चार मिटर उचाइमा रहेको हुलाकी सडक आयोजना कार्यालय धनगढीका इन्जिनियर पदम मडै बताउँछन्। हुलाकी सडक आयोजनाले बनाएको २२.८५ मिटर लामो उक्त पुल गत आर्थिक वर्षको अन्त्यतिर सम्पन्न भएको थियो। कल्भर्ट आवश्यक पर्ने सानो खोलामा पुल बनाउनु नै प्राविधिक त्रुटि भएको इन्जिनियर मडैले बताए।
अग्लो हुँदा पुल प्रयोगविहीन भएको उनले स्विकारे। ‘वर्षाको वेलाबाहेक खोलामा पानी नै हुँदैन। त्यसैले पुल आवश्यक थिएन,’ मडैले भने, ‘बरु त्यहाँ कल्भर्ट बनाइनुपर्यो।’सडकभन्दा अग्लो पुल बन्न थालेको भन्दै स्थानीयले विरोध जनाएपछि लामो समयसम्म रोकिएको थियो।
स्थानीयको विरोधपछि हुलाकी सडक आयोजना कार्यालय धनगढीले पुलको उचाइ घटाउन केन्द्रलाई सिफारिस गरेको थियो। तर, केन्द्रले डिजाइन परिवर्तन गर्न नमानेपछि पुरानै डिजाइनमा पुल बनेको इन्जिनियर मडैले बताए। पुल प्रयोगमा ल्याउन अब पुलको दुवैतिर कम्तीमा सय मिटर टाढाबाट सडकको उचाइ बढाउनुपर्ने इन्जिनियर मडैले बताए।
हुलाकी सडकले बनाएको डिजाइनमा महादेव–खिम्ती–स्वाँर–हेमन्त जेभीले पुल निर्माण गरेको हो। पुल निर्माणका लागि २०७० जेठमा सम्झौता भएको थियो। २२.८५ मिटर लामो उक्त पुल भ्याटबाहेक एक करोड १६ लाखमा निर्माण गर्ने सम्झौता भएको थियो।