कर्णाली नदी कटानले टीकापुर क्षेत्रमा जोखिम बढेको छ । नदीमा जलस्तर बढेसँगै कटान सुरु गरेको हो । तटबन्ध नभएको ठाउँमा नदीले कटान गरिरहेको स्थानीयले बताएका छन् । टीकापुर नगरपालिकासँग जोडिएको भुराखनी, दौलतपुर र सत्ती कर्णाली सामुदायिक वनमा नदी कटान भइरहेको छ । नदी कटानले स्थानीय त्रसित छन् ।
यसपालि वर्षा धेरै हुने मौसम पूर्वानुमान गरिएकाले कर्णाली तटीय क्षेत्रका बासिन्दा बाढी पस्ने डरमा छन् । स्थानीय निर्मला कडायतले टीकापुरको दक्षिणी भाग वडा ७, ८ र ९ मा बढी जोखिम रहेको बताइन् । उनले भनिन्, ‘समयमा रोकथाम भएन भने नदी बस्तीमा पस्ने खतरा छ ।’ सत्ती कर्णाली सामुदायिक वनमा नदीले कटान तिब्र बनाएको उक्त सामुदायिक वनका अध्यक्ष धनसिंह साउदले बताए ।
उनले तटबन्ध बनाउने भनेर नदी किनारका रूख काटिएको तर तटबन्ध निर्माण नभएपछि कर्णाली नदी गाउँमा पस्ने खतरा बढेको बताए । ‘तटबन्ध बनाउने भनेर कतिपय रूख काटियो । रूख नकाटेको भए बरु गाउँमा नदी पस्ने खतरा कम थियो । रूख काटियो । तटबन्ध बनाएनन् ।’ करिब ५० बिघा वन क्षेत्र कटान भइसकेको उनले भने, ‘रूख काटिएकोले सजिलै नदी कटान भइरहेको छ ।’
कर्णाली नदीमा बर्सेनि आउने बाढीका कारण यहाँको खेतीयोग्य जग्गा नदी कटान र डुबानमा पर्दै आएको छ । यही कारण नदी नियन्त्रणका लागि रानी जमरा र कुलरिया कुलो सिँचाइ आयोजनाले कर्णाली मोहना र पथरैया नदीमा तटबन्ध निर्माण गर्दै आएको छ । तटबन्ध नभएको ठाउँमा कर्णाली नदीले कटान गरे पनि तत्काल आत्तिनुपर्ने अवस्था नभएको रानी जमरा कुलरिया सिँचाइ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर विदुरमान श्रेष्ठले बताए । उनले भने, ‘भुराखानीमा केही दिनअघि मात्र तटबन्ध निर्माणको ठेक्का स्वीकृत भएकाले निर्माणको काम भइरहेको छ ।’
तटबन्ध निर्माणमा लापरबाही
त्ती कर्णाली सामुदायिक वन किनारको कर्णाली नदीमा भइरहेको तटबन्ध निर्माणमा लापरबाही गरिएको छ । रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत तटबन्ध निर्माणको काममा हाइग्रिभा सिद्धि साई प्रकाश जेभी निर्माण कम्पनीले लापरबाही गरेको हो ।
२०७२ मा तटबन्ध निर्माण कार्यको सम्झौता गरेको कम्पनीले पटकपटक म्याद थप्दै गत मंसिरसम्म म्याद थप गरिएको भए पनि कम्पनीले काम पूरा नगरेको सिँचाइ आयोजना कार्यालयले जनाएको छ । विभिन्न समयमा भएको सहमतिअनुसारको कार्यतालिका बमोजिमको पटकपटक ताकेता गर्दा पनि प्रगति नभएको आयोजना कार्यालयले जनाएको छ । रानी जमरा कुलरिया कुलो सिँचाइ आयोजनामार्फत कर्णाली तथा मोहना नदी नियन्त्रणको काम भएपछि बाढीको जोखिम कम हुँदै गएपनि ठेकेदारको लापरबाहीले समयमा काम नहुँदा सास्ती भोग्नुपरेको सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष धनसिंह साउदले बताए ।
हाइग्रिभा सिद्धि साई प्रकाश जेभी निर्माण कम्पनीले लापरबाही गरी काम सम्पन्न नगरेकाले कारबाही प्रक्रिया अघि बढाइसकिएको सिनियर डिभिजन इन्जिनियर श्रेष्ठले बताए । उनले भने, ‘मंसिरमा म्याद सकिएको हो । कोभिडलगायत कारण देखाएर सरकारले नीतिगत निर्णय गरेमा हाम्रो केही लाग्दैन । होइन भने कारबाही प्रक्रिया अघि बढाइसकिएको छ । कम्पनीलाई नियमानुसार कारबाही हुन्छ ।’