धनगढीमा अन्त्येष्टिपछि कोरोना पुष्टि भएकी महिलाको सम्पर्कमा आएका कसैको पनि स्वाब संकलन र परिक्षण गरिएको छैन । धनगढी उप–महानगरपालिका वडा नम्वर ४ महिमा टोलकी ५५ बर्षीय महिलाको कोरोना भाइरसले मृत्यु भएको एक साता हुन लाग्दा पनि मृतकको सम्पर्कमा आएका कसैको पनि स्वाब संकलन हुन नसकेको हो ।
स्वाब संकलनका लागि पटक–पटक आग्ह गर्दा समेत वेवास्ता गरिएको धनगढी उप–महानगरपालिका वडा नम्वर ४ का अध्यक्ष दीपक थापाले जानकारी दिए । उनले सम्पर्कमा आएकाहरुको आरडिटी परीक्षण समेत हुन नसकेको बताउँदै छिमेकीहरु काममा जान थालेको जानकारी दिए ।
धनगढी उप–महानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख कुम्भराज शर्माले पनि कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न नसकिएको बताए । प्रयोगशालामा स्वाबको चाप धेरै भएको र तत्काल परीक्षण सम्भव नभएकाले स्वाब संकलन नगरिएको शर्माको भनाई छ । महिमा टोलमा गएर ज्वरो परिक्षण गरिएको र सम्पर्कमा आएकाहरुको खोजी भईरहेको शर्माको दावी छ ।
मृतक महिलाको अन्त्येष्टिमा धनगढी उप–महानगरपालिका वडा नम्बर ४ सहित घोडाघोडी नगरपालिका वडा नम्बर ३ का ८ जना र बर्दोगोरिया गाउँपालिका वडा नम्बर २ का दुई जना गरी ४९ जना सहभागी भएका थिए । मृतकलाई सेती प्रादेशिक अस्पताल सम्म लैजाने तथा उनको शव ल्याउने अटो चालक, आर्यघाट सम्म शव लैजाने ट्रयाक्टर चालक पनि सम्पर्कमा आएका थिए ।
शुक्रवार दिउँसो १२ बजे उनको सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा मृत्यु थियो भने ती महिलाको शनिवार बिहान अन्त्येष्टि गरिएको थियो । शनिवार दिउँसो मात्रै उनको मृत्यु कोरोना भाइरसका कारण भएको पुष्टि भएको थियो ।