प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत पाएका छन् । प्रतिनिधि सभामा आज बेलुकी भएको मतदानमा देउवाको पक्षमा १६५ मत परेको छ । विपक्षमा ८३ मत र मत दिन्न भन्नेमा १ परेको थियो । मतदानमा २४९ जना सदस्य सहभागी थिए ।
सर्वाेच्च अदालतले गत असार २८ गते देउवालाई संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । धारा ७६(६) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको लिनुपर्ने प्रावधान छ । सोही प्रावधा अनुसार देउवाले आज प्रतिनिधि सभाको पहिलो बैठकमै विश्वासको मत लिएका हुन् ।
प्रतिनिधि सभामा सरकारले विश्वासको मत प्राप्त गर्न १३६ सांसदको समर्थन चाहिन्थ्यो । एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका जसपाका महन्थ ठाकुर पक्षका सांसदहरुले समेत साथ दिएपछि उनले सजिलै विश्वासको मत प्राप्त गरेका हुन्।
असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। पाँच दलीय गठबन्धनका माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेको नेपाल पक्षको समर्थन पाएपछि देउवाले पुन:स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिने निर्णय गरेका थिए।
विश्वासको मत पाएसँगै देउवाले अब यो प्रतिनिधिसभाको पूरा कार्यकाल सरकार चलाउने छन्। अब प्रतिनिधि सभाको कार्यकाल करिब डेढ वर्ष बाँकी रहेको छ। यो समय गुजारेपछि देउवाले आगामी प्रतिनिधि सभाको निर्वाचन गराएर विदा हुनेछन्।
ओली निकट पुर्व वनमन्त्री आले सहितले दिए देउवालाई विश्वासको मत
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्षमा रहेका पुर्व वनमन्त्री प्रेमबहादुर आले सहितका तीन जना सांसदहरुले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । यसअघि केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद प्रेम आलेले देउवालाई विश्वासको मत दिएका हुन् ।
त्यस्तै तनहुँबाट निर्वाचित सांसद किसान श्रेष्ठले पनि देउवालाई विश्वासको मत दिएका छन् । उनीहरु विश्वासको मतको पक्षमा मतदान गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपालसंगै लबीमा प्रवेश गरेका थिए । त्यस्तै डोल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद धनबहादुर बुढाले पनि देउवालाई विश्वासको मत दिएका छन् ।