निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरको मेडिकल डाईरेक्टरमा डाक्टर मेराज आलम अन्सारी नियुक्त भएका छन् । हस्पिटलको बोर्डले डाक्टर अन्सारीलाई मेडिकल डाईरेक्टरमा नियुक्त गरेको हो ।
को हुन अन्सारी ?
२०३२ सालदेखि धनगढीमै हार्डवेयर व्यवसाय गरिरहेको थियो डाक्टर मिराजको परिवार । वाल्यकालका केही बर्ष धनगढीमै पढे । बिचमा पढाईका लागि नैनीताल गए । फेरि धनगढी फर्किए । जेसिज एभरेष्ट स्कुलबाट एसएलसी पास गरे । प्लट टु काठमाण्डौंको डनबस्को कलेजमा गरे । त्यसपछि उनी अष्ट्रेलिया जाने सोचमा थिए । उनका साथीहरु पनि उतै गईसकेका थिए । रहर थियो फेशन डिजाईन पढ्ने । तर उनका हजुर बुबा नातिले डाक्टर पढ्नुपर्ने अडानमा थिए । हजुर बुबाको अडानलाई सुरुमा त उनले वास्ता गरेनन् । तर पछि हजुर बुबाले अत्ति गरेपछि उनी एमबीबीएस पढेका हुन् ।
एमबीबीएसको पढाई मरिससमा गरे । पढेर फर्किएपछि बीर अस्पतालमा ईन्टरसीप गरे । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि काम गरे । त्यसपछि मेराज महेन्द्रनगरको नागार्जुन अस्पतालमा काम गर्न आए । २० महिना काम गरे । त्यसपछि उनी एम.एस पढाई गर्न नेपालगंज मेडिकल कलेजमा भर्ना भए । पास पनि भए । कामसँगै लेक्चरको रुपमा मेडिकल कलेजमा काम पनि गरे तीन बर्ष । सेती अस्पतालमा आएर पनि काम गरे । अहिले भने उनले सेती छोडेका छन् ।
निजि अस्पताल र क्लिनिकमा पनि जटिल शल्यक्रियाका लागि उनलाई नै बोलाउने गरिन्छ । हजुर बुबाको सपना साकार पार्न डाक्टर बनेका उनी अहिले उही फिल्डमा रमाएका छन् । जुन क्षेत्रमा लागियो, त्यही क्षेत्रमा राम्रो काम गर्नुपर्छ भनेर लागिहेका छन उनी । काम पनि देखाईरहेका छन् । सयौं विरामीहरुलाई सेवा पनि दिईरहेका छन् । उनी आएपछि ठुला शल्यक्रियाहरु भएका छन् ।
दुरविन विधिबाट पित्थ शैलीको अप्रेशन, आन्द्रा फुटेको, बेरिएको लगायतका धेरै शल्यक्रिया र उपचारहरु गर्दै आएका छन् । त्यसका लागि अहिले उपकरणहरु पनि आईसकेका छन् । सर्जरीका लागि चाहिने ८० प्रतिशत कामहरु धनगढीमै हुने गरेको र अन्त जानु नपर्ने बताउँछन् उनी ।
धनगढीमा मात्रै पछिल्लो एक बर्षमा उनले ६ हजारभन्दा वढी शल्यक्रिया गरिसकेका छन् । हाईड्रोसिल, हर्निया, एपेन्डिस, आन्द्रामा प्वाल परेको, आन्द्रा फुटेको लगायतका धेरै शल्यक्रिया गरिरहेका छन् उनी । अब जटिल शल्यक्रियाको लागि अन्त जानुपर्ने अवस्थाको अन्त्य भएको र धनगढीमै हुने उनको दावी छ । धनगढी मेडिकल हबको रुपमा विकास हुदैं गएकोमा खुशी छन् उनी । यसले विरामीहरुलाई राहत भएको मान्छन् ।
धनगढीमा जटिल शल्यक्रियाहरु हुन थालेपछि कार्डियो र न्युरो सम्बन्धी उपचार सेवा थप गर्नुपर्ने देखेका छन् उनले । स्वास्थ्य उपचारका प्रायः सबै सेवाहरु थपिएको अवस्थामा अव ती दुई सुविधा दिन सकेमा राम्रो हुने उनको तर्क छ । मुटु सम्बन्धी समस्याका लागि तत्काल रेस्पोन्स गर्ने कार्डियो सेन्टर र न्युरो सर्जिकल सम्बन्धी क्याथ ल्याब भएमा सुनमा सुगन्ध हुने उनको भनाई छ । कुनै समय फेशन डिजाईनर बन्ने सपना वोकेका उनी अहिले विरामीहरुको उपचारमा संग्लन भएपछि स्वास्थ्य क्षेत्रमै रमाएका छन् । यसैमा अझ केही गर्ने उनको सोच छ ।