धनगढीका विभिन्न वडाहरुको डुवान समस्या समाधानका लागि धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड काठमाडौं पुगेका छन्।बर्षाद् सुरु भएसँगै डुवानमा रहेका बस्तीहरुबाट मोहनामा पानी निकासका लागि संघीय सरकारसँग सहयोग माग गर्न मेयर वड काठमाडौं पुगेका हुन्।
त्रिनगर भन्सारदेखि अत्तरियाको ६ लेन सडक निर्माण भएपछि धनगढीका वडा नम्बर २ र ३ का वडाहरु झन् डुवानमा पर्न थालेपछि केही दिन अघि मेयरले डोजर लगाएर बन्द गरिएको ठाउँ भत्काउने चेतावनी समेत दिएका थिए।
वडा नम्बर २ र ३ मा भईरहेको डुवानको समस्या समाधानका लागि संघीय सरकारसँग सहयोग जुटाउन आफु काठमाडौं गएको उनले बताएका छन्। ‘अहिले म काठमाडौंमा छु। भौतिक मन्त्रालयको टोली लिएर ढल निकासको समस्या समाधान गर्न ठोस योजना बनाइने छ,’ उनले भने, ‘नगरवासीले सहयोग गरे उपमहानगरपालिकामा डुबानको समस्या समाधान गर्न तयार छौँ।’
मेयरले नगरबासीको साथ पाएपछि डुवान समस्या समाधानका लागि दिर्घकालीन योजनाका लागि दौडिरहेको बताए। तर तत्काल भने बस्ती तथा टोलको पानी निकासका लागि आवश्यक काम गर्न वडावासीसँग समन्वय गर्न वडा अध्यक्षहरुलाई आग्रह गरिएको नगर प्रमुख वडले बताए।
लगातारको वर्षापछि वडा नं ३ का विभिन्न क्षेत्र जलमग्न भई नेपाल विद्युत् प्राधिकरणको धनगढी वितरण केन्द्र, हाटबजारलगायत क्षेत्र डुबानमा परी समस्या हुन थालेपछि प्रहरीले मङ्गलबार मोहनापुुल–अत्तरिया छ लेन सडकमा निर्माण गरिएको कल्भर्ट खोली निकास गर्न खोज्दा वडा नं २ का स्थानीयवासी र प्रहरीबीच झडपसमेत भएको थियो ।
झडप हुँदा सशस्त्र प्रहरीका छ र नेपाल प्रहरीका सात गरी १३ प्रहरी घाइते भएका थिए । त्यस्तै केही स्थानीयवासी पनि घाइते भएका थिए । लामो समय उक्त क्षेत्र तनावग्रस्त भई प्रहरी र स्थानीयवासीबीच मुठभेड हुन थालेपछि स्थितिलाई नियन्त्रण लिन प्रहरीले ५७ राउण्ड अश्रुग्यास हवाई फायर गरेको थियो ।