सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहितको टोलीले कञ्चनपुरमा निर्माणाधीन विभिन्न सडकखण्डहरूको स्थलगत अनुगमन गरेका छन् । शनिबार मुख्यमन्त्री भट्ट टोलीले जिल्लाको बेलौरी कलुवापुर सडकखण्ड, कलुवापुर नाइल बुडर सडकखण्ड र दैजी लिप्ना सडकखण्ड लगायतका आयोजनाहरूको स्थलगत अनुगमन गरेका हुन् ।
त्यसैक्रममा कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालयमा आयोजित साक्षात्कार कार्यक्रममा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले बेलौरी-कलुवापुर सडकखण्ड र डोकेबजार-बेलौरी-बेलडाँडी-दैजी हुलाकी सडकखण्ड कालोपत्रेको बाँकी काम, ड्रेन निर्माण, सीमा सम्बन्धी समस्या समाधान र भन्सार नाका स्तरोन्नति लगायतका सन्दर्भमा प्रदेश सरकारसँग आवश्यक सहयोगका लागि ज्ञापन पत्र पेस गरे ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारको अधिकार क्षेत्र भित्र रहेर आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यत्तल गरे । प्रदेश सरकार मातहत रहेको कलुवापुर-बेलौरी सडकखण्डमा अधिकांश कार्य पूरा भएको र बाँकी अवरोध समेत समाधान गर्न तर्फ प्रदेश सरकार केन्द्रित भएको बताए । हुलाकी सडकखण्ड, सीमा विवाद र भन्सार नाका स्तरोन्नति लगायतका विषयमा सङ्घीय सरकारसँग पहल गर्ने मुख्यमन्त्री भट्टको भनाई छ ।
स्थलगत अनुगमन सामाजिक विकास मन्त्री लाल बहादुर खड्का प्रदेश सभा सदस्यद्वय महेशदत्त जोशी र कुलबीर चौधरी, भौतिक विकास मन्त्रालय तथा पूर्वाधार विकास कार्यालयका प्रतिनिधिको पनि सहभागिता रहेको थियो ।