कैलालीका आरडिटी पोजेटिभहरु पिसिआर परीक्षण माग गर्दै भएका आन्दोलित भएका छन् । कैलालीको घोडाघोडी नगरपालिकाले सञ्चालन गरेको आइसोलेशन वार्डमा बसिरहेका आरडिटी पोजेटिभ भएकाहरू पिसिआर परीक्षण माग गर्दै सडक आन्दोलित भएका हुन् ।
नगरपालिकाले स्थानीय घोडाघोडी बहुमुखी क्याम्पसमा सञ्चालन गरेको आइसोलेशन वार्डमा बसेका आरडिटी पोजेटिभ भएकाहरू लामो समय भइसक्दा पनि पिसिआर परीक्षण नगरिएको, प्लाष्टिकको चामल खुवाइएको, चर्को गर्मी विद्युत् व्यवस्थापन नभएको, खानेपानीको समस्या रहेको र बारम्बार आग्रह गर्दा पनि कुनै व्यवस्थापन नगरिएको आरोप लगाउँदै आन्दोलित भएका हुन् ।
पटक पटक जानकारी गराउँदा पनि कसैले वास्ता नगरेको र अति भएर सडकमा आउनुपरेको आइसोलेशन वार्डमा बसिरहेका घोडाघोडी–९ का केवल बटालाले बताए । प्रदेशभरि नै स्वाब सङ्कलन रोक्न निर्देशन भए अनुसार घोडाघोडीमा पनि रोकिएकाले पिसिआर परीक्षणमा समस्या भएको नगर प्रमुख ममताप्रसाद चौधरीले बताए । उनका अनुसार स्वाब सङ्कलन गर्न भिटिएमको समस्या छ ।
अब नगरपालिकाले भिटिएम खरीद गरेर स्वाब सङ्कलन गरेर र परीक्षणका लागि पठाउने जनाएको छ । सामुदायिक क्याम्पसलाई आइसोलेशन वार्ड बनाउँदा व्यवस्थापनमा समस्या भएको नगरप्रमुख चौधरीले बताए ।