यतिबेला कैलाली, कञ्चनपुरलगायत तराईका बस्तीहरूमा खपिनसक्नु गर्मी छ । तर धनगढीदेखि झन्डै ३० किलोमिटरको दूरीमाथि पहाडमा रहेको खानीडाँडा क्षेत्रमा भने शीतल छ । तराईको गर्मी छलेर खानीडाँडाको शीतलतामा रमाउन धनगढी, महेन्द्रनगर मात्रै हैन, सीमावर्ती भारतका बासिन्दाहरू पनि खानीडाँडा पुग्ने गरेका छन् ।
पछिल्ला वर्षहरूमा खानीडाँडा खासगरी कैलाली, कञ्चनपुरको तराई क्षेत्रका बासिन्दाका लागि गर्मी छल्ने रोजाइको गन्तव्य बनेको छ । गर्मी सिजन सुरु हुनेबित्तिकै भरिभराउ हुने यहाँका होटल, कटेजहरूमा शुक्र र शनिबारका दिन त बास पाउनै मुस्किल हुने गर्छ । ‘तराईमा गर्मी निकै बढेपछि हप्ताको एक दिन खानीडाँडामा जाने गरेका छौं,’ धनगढीका रमेश भट्टले भने, ‘यतिबेलाको सिजनमा शुक्रबारको दिन त खानीडाँडाका होटलमा बास पाउन पनि मुस्किल पो हुन्छ ।’
खानीडाँडा ओहोरदोहोर गर्ने युवायुवतीहरूको संख्या झन् बाक्लो हुन्छ । दशकअघिसम्म खानीडाँडा कैलाली, कञ्चनपुरलगायत तराईका जिल्लाहरूबाट सुदूरपश्चिमका ७ पहाडी जिल्ला जाने सार्वजनिक सवारी साधनमा यात्रारत यात्रुले खाना नास्ता खाने ठाउँमा सीमित थियो । पछिल्लो समय होटल व्यवसाय र अन्य पूर्वाधार विकासमा लगानी बढेसँगै गर्मी सिजनमा रोजाइको गन्तव्य बनेको हो । हुन पनि एक घण्टा तल तराईमा ३५/३८ डिग्रीको उखरमाउलो गर्मी हुँदा खानीडाँडामा बढीमा २२/२४ डिग्री तापक्रमको चिसोले बहारको अनुभूति गराइरहेको हुन्छ । खानीडाँडामा हाल ७० भन्दा बढी होटल सञ्चालनमा रहेको यस क्षेत्रको चुरे गाउँपालिका–५ का वडाध्यक्ष नरबहादुर तामाङले बताए । ‘यहाँ सुविधायुक्त होटलहरू निर्माण भइरहेका छन्,’ तामाङले भने, ‘होटल व्यवसायमा बर्सेनि लगानी बढेको बढ्यै छ ।’
गर्मी छल्नकै लागि खानीडाँडामा पिकनिक मनाउन जानेहरूको संख्या पनि बाक्लै हुन्छ । यहाँ राजमार्ग छेवैमा व्यवस्थित पिकनिकस्थल निर्माण गरिएको छ । धनगढी महेन्द्रनगबाट पिकनिक मनाउन जानेहरू अधिकांश सोही स्थानमा रमाउने गर्छन् । गत साता धनगढीस्थित सुदूरपश्चिमाञ्चाल क्याम्पसको टोली बस रिजर्ब गरेर खानीडाँडामा पिकनिक मनाउन गए । ‘खानपिनका सामग्रीहरू सबै धनगढीबाटै लिएर गएका थियौं,’ क्याम्पसका शिक्षक हरिप्रसाद जोशीले भने, ‘दिनभर खानीडाँडाको शीतलतासँगै रमायौं । त्यो पिकनिकस्थलमा पालै पाउन गाह्रो हुँदो रहेछ ।’ खानीडाँडा नजिकै पर्ने गोदावरी नगरपालिकाअन्तर्गत पर्ने बुढीतोलामा पनि उस्तै घुइँचो हुन्छ ।
स्थानीय उत्पादनका अर्ग्यानिक खाना, लोकल कुखुराको परिकारले खानीडाँडाको आकर्षणलाई झन् धेरै बढाएको होटल व्यवसायीहरू बताउँछन् । ‘हामी ग्राहकहरूलाई सकभर सबै स्थानीय उत्पादनकै खानेकुरा उपलब्ध गराउँछौं,’ होटल व्यवसायी वीरेन्द्र सापकोटाले भने, ‘ठाउँ पनि उत्तिकै रमाइलो छ ।’
खानीडाँडाका चिसो वातावरणमा रमाउन सीमा क्षेत्रमा पर्ने भारतीय सहरबाट स्थानीय आउने गरेको व्यवसायीहरू बताउँछन् । भारतमा आइतबार साप्ताहिक बिदा हुन्छ । कोरोनाका कारण पहिलाको तुलनामा संख्या घटेको भए पनि फाट्टफुट्ट अहिले पनि आउने गरेको सापकोटा बताउँछन् ।
खानीडाँडाको आकर्षण अझ बढाउन बजारदेखि करिब डेढ घण्टाको दूरीमा रहेको कम्पासेधुरामा भ्यू–टावर निर्माण अन्तिम चरणमा पुगेको वडाध्यक्ष तामाङले बताए । एक हजार ७ सय ८० मिटर उचाइमा रहेको कम्पासेधुराबाट हिमाल, पहाड र तराईको रमाइलो दृश्यावलोकन गर्न मिल्ने रमणीय ठाउँ भएको उनले बताए । ‘कम्पासेधुराबाट कैलालीको चिसापानी पुल अनि कञ्चनपुरको दोधारा चाँदनीको झोलुंगे पुलको मनमोहक दृश्य देखिन्छ,’ वडाध्यक्ष तामाङले भने, ‘सैपालदेखि भारतका सहरहरू पनि कम्पासेधुराबाट देखिन्छन् ।’ बुढीतोलामा रहेको बाख्रा विकास फार्म पनि यस क्षेत्रको अर्को आकर्षण हो । रमणीय ठाउँमा बाख्रा अनुसन्धान केन्द्रका रूपमा दशकौंअघिदेखि सञ्चालनमा रहेको यो फार्म अवलोकन गर्न किसानहरू मात्रै हैन, अन्य पर्यटकहरू पनि जाने गरेका छन् ।
दुई वर्षअघि खानीडाँडा क्षेत्रमा दुई वटा कालिज फार्म पनि स्थापना गरिएका छन् । ‘कालिज हेर्नका लागि पनि आन्तरिक पर्यटकहरू बुढीतोला र खानीडाँडा आउने गर्छन्,’ बुढीतोलाका होटल व्यवसायी रमेश श्रेष्ठले भने । आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएपछि खानीडाँडा र बुढीतोला क्षेत्रमा जग्गाको कारोबार बढेको स्थानीयहरू बताउँछन् । ‘गोदावरीमा प्रदेश राजधानी बन्ने भएपछि जग्गा किनबेच अझ बढेको हो,’ वडाध्यक्ष तामाङले भने, ‘अहिले त जग्गा पाउनै मुस्किल छ ।’