स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसी दार्चुलाका दुर्गम गाउँपालिकाका स्वास्थ्य चौकीहरुमा पुगेर जनतालाइ निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । व्याँस गाउँपालिका र मार्मा गाउँपालिकामा सेवा दिएका डाक्टर केसी अपी हिमाल गाउँपालिका पुगेका छन् ।
अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी स्वास्थ्यचौकीमा जनतालाई दुई दिन निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने डाक्टर केसीले बताए । सुदूरपश्चिमको दुर्गम हिमाली दार्चुला जिल्लाको शिक्षा र स्वास्थ्य अवस्था निकै दयनिय छ । मेडिकल सुपरिटेन्डेन्ट डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल दार्चुलामा स्थापनाकालको तीन दशक बढी समय बितेपनि अहिलेसम्म प्रमुख डाक्टर नआउदा निमित्तको भरमा अस्पताल सञ्चालनमा छ ।
जटिल तथा गुणस्तरीय स्वास्थ्य सेवाका लागि दार्चुलावासीले भारतको पिथौरागढ लगायत विभिन्न जिल्ला र नेपालको डडेल्धुरा, कैलाली, नेपालगञ्ज, काठमान्डौँ लगायतका अस्पताल धाउनुपर्ने बाध्यता छ ।