डोटीमा गाउँपालिकाको एम्बुलेन्समा यात्रु ओसारेपछि स्थानीय आक्रोसित 
2020/06/11, 7:41
 
korona

डोटीको बडिकेदार गाउँपालिकाको एम्बुलेन्सले भारतबाट फर्किएका नागरिकलाई ओसार्न थालेपछि स्थानीय बासिन्दा आक्रोसित बनेका छन् । रोजगारीका लागि भारत गएका नागरिकलाई  से १ झ २८१ नम्बरको एम्बुलेन्समा यात्रु भित्र्याउँदा कोरोनाको त्रास फैलिएको भन्दै स्थानीय बासिन्दाले विरोध गरेका हुन् ।

अमेरिकामा बस्दै आएका नेपालीको सहयोगमा डोटीका काङ्ग्रेस नेता आनन्द विष्टको पहलमा आमा फाउण्डेसनले गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको हो । एम्बुलेन्समा दैनिक यात्रु ओसारिँदा सम्बन्धित निकायले कुनै चासो नदेखाएको स्थानीयको आरोप छ । गाउँपालिकाका स्वास्थ्य संयोजक योगेन्द्र शाहीले एम्बुलेन्समा यात्रु बोकेको विषयमा छानबिन गरी दोषी देखिए कानुनी कारबाही गरिने बताए । उनले भने, ‘बिरामी बोक्ने एम्बुलेन्समा यात्रु बोक्नु गलत हो । यात्रु बोकेको प्रमाणित भए कानुन बमोजिम कारबाहीका लागि सिफारिस गछौँ ।’

एम्बुलेन्स चालक राम बडैलाले भने आफ्नो गाउँपालिकाका उपाध्यक्ष ईन्द्रा भाट र वडा नम्बर ४ का अध्यक्ष वीरेन्द्र कोडकेनीको आदेशमा यात्रु बोकेको बताए ।  भारतबाट फर्किएका गाउँपालिकाका नागरिक नबोके जागिर खाइदिन्छु भन्दै वडा अध्यक्षले एम्बुलेन्सको चाबी खोसेपछि बाध्य भएर यात्रु बोकेको चालक बडैलाको दाबी छ ।

यस विषयमा गाउँपालिका उपाध्यक्ष ईन्द्रा भाट र वडा नं ४ का वडा अध्यक्ष वीरेन्द्र कोडकेनीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।