अछाममा नियम विपरित सञ्चालन भइरहेका व्यवसाय बन्द गर्न निर्देशन
2021/07/31, 10:19
 
bb

अछाममा नियम विपरित सञ्चालन भइरहेका व्यवसाय बन्द गर्न निर्देशन दिइएको छ। जिल्लाको मंगलसेन नगरपालिकाले बजार क्षेत्रमा नियम विपरित कृषी तथा पशुजन्य वस्तुको बिक्री वितरण हुँदै आएको जनगुनासो बढेपछि ती व्यवसाय बन्द गर्न निर्देशन दिएको हो।

नगरपालिकाले कृषी तथा पशुजन्य वस्तु सङ्कलन तथा बिक्री वितरण केन्द्रबाट मात्र व्यवसाय सञ्चालन गर्न भन्दै तीन दिनभित्र व्यवसाय बन्द गर्न वा नियमअनुसार सञ्चालन गर्न भनी एक सूचना समेत जारी गरेको थियो।

सूचनामार्फत नियम उलङ्घन वा अटेर गरे स्थानीय सरकार सञ्चालन ऐन २०७५, कृषी तथा पशुजन्य वस्तु सङ्कलन तथा बिक्री वितरण केन्द्र एवम् हाटबजार सञ्चालन व्यवस्थापन कार्यविधि २०७६ तथा अन्य प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी समेत दिइएको छ।

नगरले स्थापना गरेको हाट बजारभन्दा बाहिर गएर केही व्यापारीले अव्यवस्थित रूपमा व्यापार गरिरहेका हुँदा कृषी तथा पशुजन्य वस्तुको बिक्री वितरण व्यवस्थापन गर्न आग्रह गरेको हो।