प्रधानमन्त्री शेरबहादुर देउवाले महाकाली नदीमा शुक्रबार भएको घटनालाई आफूले गम्भीर रूपमा लिएको बताएका छन् । सत्तारूढ चार राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठनका अध्यक्षहरूको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले घटना छानबिनपछि त्यहाँको समस्या समाधानमा सरकार लाग्ने बताएका हुन् ।
सत्तारूढ दलनिकट विद्यार्थी संगठनहरू नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले शनिबार प्रधामन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै दार्चुलाको व्यास गाउँपालिका–२ मा सशस्त्र सीमा बल (एसएसबी) ले तुइन काटेको घटनाको छानबिन गर्न पनि माग गरेका थिए । एसएसबीका एक जवानले शुक्रबार तुइन काटिदिँदा स्थानीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता स्थानीयको भनाई छ ।
उक्त घटनाप्रति भर्त्सना गर्दै विद्यार्थी संगठनले सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न सरकारसँग माग गरेका छन् । यता दार्चुलाको महाकाली नदीमा तुुइनबाट युुवक खसेर बेपत्ता भएको घटनामा भारतीय एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ ।
भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र पठाउँदै सार्वजनिक भए जस्तो एसएसबीको संलग्नता नरहेको दाबी गरेका हुन् ।