साउन १७ गते अर्थात शहीद भीमदत्त पन्तको हत्या भएको दिन
2021/08/01, 12:58
 
dd

आज साउन १७ गते अर्थात विद्रोही किसान नेता शहिद भीम दत्त पन्तको स्मृति दिवस। तत्कालीन शासकले पन्तकाे हत्या गरेको आज ६९ वर्ष पुगेको छ। पन्तको ६९औँ स्मृति दिवस देशभर मनाइँदैछ। पन्तको सम्झनामा शहिद भीमदत्त स्मृति प्रतिष्ठानले स्मृति दिवस मनाउँदै आएको पनि यसवर्ष कार्यक्रम राखेको छैन।

पन्तलाई १८ फागुन २०७२ मा मात्रै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले औपचारिक रूपमा भीमदत्त पन्तलाई शहिद घोषणा गरेको थियो। विशेषगरी नेपालका कम्युनिस्ट पार्टीहरूले भीमदत्त पन्तलाई आफ्नो आदर्श मान्दै आएका छन्। कम्युनिस्ट पार्टीकै नेतृत्वमा धेरै पटक सरकार बने। तत्कालीन एमाले नेतृत्वको सरकारले नै उनलाई शहिद घोषणा पनि ग¥यो। तर, उनका मुद्दा भने जानेकोनजाने जस्तै गर्‍यो। अहिले उनको योगदानलाई दलहरूले उपेक्षा गरेको यहाँका बासिन्दा बताउँछन्। 


नेपाली किसान आन्दोलनका सहिद भीमदत्त पन्त डडेल्धुराको अमरगढी–२ कारीगाउँमा १९८३ मंसिर १० गते जन्मिएका हुन्। उत्तरप्रदेश भारतको सिन्हाईबाट संस्कृत विषयमा हाइस्कुलसम्मको अध्ययन गरेका पन्तलाई गीता र माक्र्सवादको राम्रो ज्ञान थियो। यसले नै उनमा राजनीतिक चेतना बढायो। सामन्ती संस्कारविरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने व्यक्ति पनि थिए, भीमदत्त पन्त।

पन्तले ‘ठालु खान्ना आलु गरिब खान्ना बास्मती’ भन्ने नाराका साथ ‘तमसुक च्यात, भकारी फोड’ अभियान चलाएका थिए। भीमदत्त पन्त नेपालको किसान आन्दोलनको गाथामा समेटिएको एउटा महत्वपूर्ण विद्रोही नाम पनि हो।

‘जसको जोत, उसको पोत, किसान जिन्दावाद–जनताको राज जिन्दावाद’, ‘कि त जोत हलो, कि त छोड थलो– यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ जोताहा किसानका पक्षमा वकालत गरेका थिए। पन्तको २०१० साउन १७ गते आलिताल गाउँपालिका–४ गल्लेकमा टाउको काटी हत्या गरिएको थियो।