कोरोना संक्रमण फैलिँदै गएपछि टीकापुरमा तयार गरिएको अस्थायी कोरोना अस्पताल सञ्चालनमा आएको छ । कैलालीका सात स्थानीय तह मिलेर टीकापुरको सिटीहलमा तयार गरिएको अस्थायी अस्पताल विहीवादेखि सञ्चालनमा आएको हो । टीकापुर अस्पतालमा १२ शैयाको आइसोलेसन वार्ड यसअघि नै सञ्चालनमा छ । टीकापुर अस्पतालमा कोरोना सङ्क्रमित नअटेपछि सिटी हलमा तयार गरिएको हो ।
अस्पतालमा कैलालीका सात स्थानीय तहका संक्रमितको उपचार गरिनेछ । टीकापुरको सिटीहलमा ३० शैयाको तयारी पूरा भएपछि बुधबार स्थानीय तहका जनप्रतिनिधि र टीकापुर अस्पतालबीच छलफल समेत भएको छ । छलफलमा अस्पतालमा टीकापुर अस्पतालले प्राविधिक सहयोग गर्ने र आर्थिक व्ययभार स्थानीय तह मिलेर गर्ने सहमति भएको छ । “चिकित्सकको परामर्श लगायत कार्य टीकापुर अस्पतालले गर्नेछ”, टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले भने, “आइसोलेसनमा ड्युटी हरेक स्थानीय तहका स्वास्थ्यकर्मीले १५–१५ दिन गर्ने सहमति भएको छ ।” रावलका अनुसार आइसोलेसनमा उपचारमा खट्ने स्वास्थ्यकर्मीका लागि समेत त्यही बस्ने व्यवस्था मिलाइएको छ ।
“हामी दैनिक बिरामीको रेखदेख र उपचारका लागि खटेका छौँ”, टीकापुर अस्पतालका डाक्टर जितेन्द्र कँडेलले भने, “सङ्क्रमितमा पनि सामान्य समस्या भएकालाई अस्थायी अस्पतालमा राखिनेछ भने समस्या देखिएकालाई टीकापुर अस्पतालमा रहेको १२ शैयाको आइसोलेसनमा राखेर उपचार सेवा दिनेछौं ।” केही दिनअघि टीकापुर अस्पताल विकास समितिको समन्वयमा बसेको स्थानीय तह सहितको सर्वदलीय बैठकले टीकापुर अस्पतालमा रहेको १२ शैययाको आइसोलेसन कक्ष अपुग भएकाले टीकापुरको सिटीहलमा अस्थायी अस्पताल सञ्चालन गर्ने निर्णय गरेको थियो ।
अस्थायी अस्पताल सञ्चालनका लागि टीकापुर, लम्की चुहा, भजनी र घोडाघोडी नगरपालिका, जानकी, वर्दगोरिया र जोशीपुर गाउँपालिकाले सहकार्य गरेको छ । यो क्षेत्रका बिरामीलाई उपचार सेवा लिन धनगढीभन्दा टीकापुर सहज हुन्छ ।