महाकालीमा ४ वटा झोलुंगे पुल निर्माण प्रक्रिया अघि बढेको छ: गृहमन्त्री खाँड
2021/08/02, 5:38
 
aa

गृहमन्त्री बालकृष्ण खाँडले महाकाली नदीमा ४ वटा झोलुंगे पुल निर्माण प्रक्रिया थालनी भएको बताएका छन्।  सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै गृहमन्त्री खाँडले तुइन विस्थापित गरेर महाकाली नदीमा ४ वटा झोलुंगे पुल निर्माण थालनी प्रक्रिया अघि बढेको बताएका हुन्।  

दार्चुलाको व्यास गाउँपालिका २ को जयसिंह धामीको तुइन तर्ने बेलामा खोलामा बेपत्ता भएको उल्लेख गर्दै उनले हिँडेर जाँदा २ दिनको समय लाग्ने भएकाले धामीको टोलीले तुइन तर्न बाध्य भएको बताए। 

साउन १५ गते महाकाली नदी तर्ने क्रममा धामी बेपत्ता भएका थिए। स्थानीयले भने भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन खोलिदिँदा धामी महाकाली नदीमा खसेको बताइरहेका छन्।

बेपत्ता भएको घटनाबारे भारतीय पक्षले एसएसबीको घटनामा कुनै संलग्नता नरहेको भन्दै लिखित पत्र पठाएको छ। गृह मन्त्रालयले आइतबार दार्चुला घटनाको छानबिन गर्नका लागि सहसचिव गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो। 

समितिमा गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी भट्ट सदस्य छन्।