कैलालीको टीकापुरमा कोरोना सङ्क्रमितको संख्या १३ पुगेको छ । बुधबार टीकापुरका पाँच जनामा कोरोना पुष्टि भएसँगै टीकापुरमा सङ्क्रमितको सङ्ख्या १३ पुगेको छ । टीकापुरका सङ्क्रमित चार जनाको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । बाँकी नौ जनाको शैय्या अभावमा क्वारेन्टिनमै रहेका छन ।
उनीहरुलाई सञ्चालनमा आएको आइसोलेन वार्डमा राख्ने तयारी भइरहेको टीकापुर नगरपालिका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले जानकारी दिए । “तीन दिन अघि सङ्क्रमण देखिएका पनि क्वारेन्टिनमै छन्, अस्पतालमा राख्ने ठाउँ नभएर क्वारेन्टिनमै छुट्टै कोठामा राखेका हौँ”, संयोजक रावलले भने, “सञ्चालनमा आएको अस्पतालमा लैजाने तयारी भएको छ । दैनिक सङ्क्रमित देखिन थालेका छन् ।
४०० स्वाबको नतिजा आउन बाँकी छ । अझै ठाउँ अभाव हुन्छ ।” धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा रहेको आइसोलेसन वार्ड समेत भरिएको छ । कैलालीमा सङ्क्रमितको सङ्ख्या ६० पुगेको छ । दैनिक सङ्क्रमित बढ्दै गएपछि सङ्क्रमित कहाँ राख्ने भन्ने समस्या शुरु भएको सेती अस्पतालले जनाएको छ ।