दार्चुला घटनामा गृहमन्त्री र सांसदहरुबीच सवाल जवाफ
2021/08/03, 4:16
 
aa

गृहमन्त्री बालकृष्ण खाँणले महाकाली नदी पार गर्नेक्रममा तुइनबाट दार्चुलाका जयसिंह धामी वेपत्ता भएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारले तत्काल छानविन समिति गठन गरेको बताएका छन् । गृहमन्त्री खाँणले सो घटनाका सम्बन्धमा छानविन समितिले दिएको प्रतिवेदनको आधारमा सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताए । 

मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले भने, “छानविन समितिले घटनास्थलमै गएर छानविन गर्नेछ । प्रत्यक्षदर्शीहरुको बयानलाई मूल आधार बनाएर छानविन गर्नेछ । स्थानीय नागरिकसँग पनि बुझेर छानविन समितिले सत्य तथ्यसहितको प्रतिवेदन ल्याउने छ । र प्रतिवेदनले दिएको निष्कर्षलाई सरकारले दृढताका साथ अघि बढाउनेछ । र जस्तोसुकै कदम चाल्न पनि सरकार तयार हुनेछ ।” 

सरकारले सो घटना घटेलगत्तै मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको थियो । गृहमन्त्री खाँणले सो छानविन समितिले सत्यतथ्यसहितको प्रतिवेदन बाहिर नल्याउँदा सम्म सरकारले थप केही पनि बोल्न नमिल्ने स्पष्ट पारे । 

गृहमन्त्री खाँणले सो घटनाका सम्बन्धमा सत्यतथ्य बाहिर ल्याउन सरकारले छानवीन समितिलाई स्थानीय सरकार, प्रदेश सरकार र त्यहाँका जनप्रतिनिधिहरूसँग पनि छलफल गर्न निर्देशन दिएको जानकारी पनि सांसदहरुलाई गराए । सो घटनामा भारतीय सीमा सुरक्षा बलको संलग्नता रहेकोबारे प्रमुख प्रतिपक्ष दल एमाले सांसद खगराज अधिकारीले गृहमन्त्री खाँणलाई प्रश्न गरेका थिए । 

 उनले अपराधिक ढंगले धामी नदीमा बेपत्ता भएको घटनालाई सरकारले ढाकछोप गर्न खोजेको आरोप लगाउँदै आपत्ति जनाए । एमालेकै अर्का सांसद योगेशकुमार भट्टराईले गृहमन्त्री खाँणले नदीमा वेपत्ता भएका धामीको मृत्यु नै भएको भन्ने ढंगले संसदमा हल्का टिप्पणी गरेको भन्दै आक्रोश व्यक्त गरे । 

कसले के भने ?

काँग्रेस सांसद गगनकुमार थापाले सो घटनाको सत्यतथ्य बाहिर ल्याउने गरी संसदलाई विश्वास दिलाउन गृहमन्त्री खाँणको ध्यानाकर्षण गराए । उनले घटनामा संलग्न जोकोहीलाई पनि कारवाहीको दायरामा ल्याउन सरकारले हिम्मतका साथ काम गर्नुपर्ने पनि बताए । 

यता, जवाफमा गृहमन्त्री खाँणले छानविन समितिको प्रतिवेदन नआई सरकारले थप बोल्न नमिल्ने बताए । उनले छानविन समिति घटनास्थल पुग्ने र त्यसको सत्यतथ्य बाहिर आउने विश्वास समेत व्यक्त गरे । सरकारले सो घटनाको छानविन गर्न गठित सहसचिव गौतम नेतृत्वको टोलीलाई १० दिनको समय दिएको छ ।