डडेल्धुरा अस्पतालमा अक्सिजन प्लान्ट जडान सुरु
2021/08/03, 6:06
 
aa

सुदूरपश्चिममा संघीय सरकार मातहतको एक मात्र डडेल्धुरा अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम सुरु भएको छ। नेपाल सरकारले डडेल्धुरा अस्पतालमा अक्जिन प्लान्ट निर्माणका लागि ४ करोड रुपैयाँ उपलब्ध गराएपछि अक्सिजन प्लान्ट जडानको काम सुरु गरिएको अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले बताए। 

डडेल्धुरा अस्पतालमा रहेको पुरानो अक्सिजन प्लान्टको क्षमता दैनिक २७ सिलिण्डर भर्ने रहेको थियो। हाल जडान भइरहेको अक्सिजन प्लान्टको क्षमता दैनिक २ सय सिलिन्डर भन्दा बढी रहेकोले त्यसले डडेल्धुरा अस्पतालमा मात्रै नभई सुदूरपश्चिमभरी नै अक्सिजनको अभाव हुन नदिने बताए। 

गत असार मसान्तसम्म अक्सिजन प्लान्ट जडानको काम सक्नेगरी सम्झौता भएको भएपनि नेपाल सरकारले नै सम्झौताको म्याद थप गर्दा केही ढिलाई भएको निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर जगदीशचन्द्र बिष्टले बताए। ‘अब साउन महिनाभित्र जडानको सम्पूर्ण काम सम्पन्न गरेर भदौबाट अक्सिजन उत्पादन हुन्छ’ उनले भने। 

नेपाल सरकारले डडेल्धुरा अस्पतालका लागि आइसियू, भेन्टिलेटर र अक्सिजन ट्यांक निर्माणका लागि ६ करोड ८० लाख, एचडीयु स्थापनाका लागि ३ करोड १२ लाख ७० हजार र अक्सिजन प्लान्ट निर्माणका लागि ४ करोड रकम विनियोजन गरेको थियो। अस्पतालमा आइसियू र एचडीयु स्थापनाको काम पनि सुरु भएको अस्पताल विकास समिति अध्यक्षले ओझाले बताए।