बयालपाटा अस्पतालले रोजगारी तथा आर्थिक सहायता दिने जनाएको छ । घटनाको चारदिनपछि अस्पतालले एक विज्ञप्ती जारी गरेर यस्तो निर्णय सार्वजनिक गरेको हो । अस्पताल प्रशासनले ३२ जना कर्मचारीको करार सम्झौता नविकरण नगरेपछि सरसफाइ कर्मचारी सिद्धार्थ आउजीले अस्पतालमै आत्मदाह गरेका थिए । घटनाको विरोध भएपछि अस्पताल प्रशासनले करार सम्झौतालाई निरन्तरता दिने निर्णय पनि गरेको छ । अब ती ३१ जना कर्मचारीको जागिर थमौती हुने छ ।
अस्पतालका अध्यक्षका सुरज वैद्यले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘सरोकारवालाहरूको सुझाव सल्लाह बमोजिम मिति २०७७ साल बैसाख ३१ गतेको यस संस्थाको कार्यकारिणी समितिले आगामी आर्थिक वर्ष २०७७, ७८ मा संस्थामा कार्यरत केही कर्मचारीहरूको करार सम्झौता नविकरण नहुने भनी गरेको निर्णय हाललाई स्थगित गरिएको छ ।’
न्याय हेल्थ नेपालद्धारा संचालित स्वास्थ्य संस्थाहरुमा सेवा व्यवस्थापन गर्न चालु खर्चका लागि आवश्यक अनुदान बिनियोजित गर्न स्थानीय, प्रदेश, तथा केन्द्र सरकार र सरोकारवालालाई विज्ञप्ती मार्फत आग्रह गरिएको छ । साथै गएको जेष्ठ २६ गते दिवंगत भएका बयालपाटा अस्पतालमा कार्यरत कर्मचारी स्वर्गिय सिद्धार्थ आउजीको परिवारलाई आर्थिक तथा रोजगारीको सहयोग गर्ने निर्णय गरिएको अध्यक्ष बैद्यद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
गत सोमबार बिहान निकालिएका सरसफाइ कर्मचारी साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका २७ वर्षीय सिद्धार्थ आउजीले अस्पताल परिसमै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उनको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो । उनीसंगै अन्य ३२ जना कर्मचारीको समेत कोभिड–१९ को महामारीका कारण सेवा सुविधा दिन नसकिने भन्दै करार अवधि नथप्ने निर्णय गरिएको थियो ।