कांग्रेस युवा नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहे स्वास्थ्य मन्त्री बन्न तयार रहेको बताएका छन् । संयुक्त सरकार र कोभिडको महामारीमा धेरै काम गर्नुपर्ने अवस्था रहेको भन्दै थापाले प्रधानमन्त्रीले जिम्मेवारी दिए आफू पछि नहट्ने बताएका हुन् ।
‘मैंले प्रधानमन्त्रीलाई भनेको छु । यो संयुक्त सरकार हो । अप्ठ्यारो बेलामा आएको छ । १२ /१५ महिनामा धेरै काम गर्नुपर्नेछ । यस्तोमा प्रधानमन्त्रीलाई स्वतन्त्र भएर काम गर्न दिनुपर्छ’ थापाले चितवनमा संचारकर्मीसँग कुरा गर्दै भने, ‘प्रधानमन्त्रीलाई फ्रि भएर काम गर्न दिनुपर्छ । को के हुने भन्ने उहाँको कुरा हो । प्रधानमन्त्रीले यो बेला सरकारमा बस काम गर भन्नुभयो भने म तयार छु । होइन अहिलेलाई संसदमा बसेर काम गर भने म संसदमै बसेर भूमिका खेल्न पनि तयार छु ।’
थापा यस अघि पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा स्वास्थ्य मन्त्री बनेका थिए ।
प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई ल्याएपछि विरोध भएको थियो । प्रधानमन्त्री निकटका नेताले नै गगन थापालाई स्वास्थ्यमन्त्री बनाउनुपर्ने विषय उठाएका थिए । तर सरकार गठनकाे एक महिना हुन लाग्दासमेत देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।