बाजुराका १० वर्षीय बालकमा देखियो कोरोनाको डेल्टा भेरियन्ट
2021/08/05, 3:58
 
aa

बाजुराका १० वर्षीय एक बालकमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेको छ । जिल्ला अस्पताल बाजुराबाट रिफर गरिएका १० वर्षीय बालकमा कोरोनाको डेल्टा भेरियन्ट देखापरेको हो ।

कोरोनासँग मिल्दो जुल्दा लक्षण देखिएपछि चेकजाँचका लागि जिल्ला अस्पताल बाजुरामा एन्टिजेन जाँच गर्दा रिपोर्ट नेगेटिभ भएपछि उनलाई ४ दिन निमोनियाको उपचार गरिएको थियो ।जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा रिफर गरिएको थियो ।

धनगढीमा पनि उपचार सम्भव नभएपछि अस्पतालले काठमाडौं रिफर गरेको थियो । त्यहाँ कोरोनाको आशंकामा स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको डेल्टा भेरियन्ट देखा परेको जिल्ला अस्पताल अस्पताल बाजुराका प्रमुख डा. प्रकाशराज जोशीले बताए । 

कोरोना भाइरसको डेल्टा भेरियन्ट देखिएका बालक काठमाडौंमा भेन्टिलेटरमा उपचारपछि सञ्चो भएर डिस्चार्ज भएको परिवारले जनाएको छ । उक्त बच्चाको सम्पर्कमा रहेका अन्यको स्वाब संकलन गरेर पिसिआर गर्ने तयारी रहेको जोशीले बताए ।