सामाजिक विकास मन्त्रीको आफन्त मोहः सम्धीनीलाई आफ्नो सचिवालयमा !
2021/08/08, 2:36
 
dd

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले आफ्नी सम्धीनीलाई आफ्नो सचिवालयमा ल्याएको पाईएको छ । भिमदत्त नगरपालिकामा कार्यरत सिअनमी लीलाबती बिष्टलाई मन्त्रीको सचिवालयमा ल्याईएको हो । मन्त्री खड्काकी सम्धीनी नाता पर्ने उनलाई सामाजिक विकास मन्त्रालयको ठाडो निर्देशनमा सचिवालयमा ल्याईएको हो । 

गत जेठ १४ गते शुक्रबार सामाजिक विकास मन्त्रीको शपथ लिएको एक सातामै उनले आफ्नी सम्धीनीलाई आफ्नै सचिवालयमा काम गर्दै आएका कर्मचारीलाई पन्छ्याएर ल्याएका हुन् । स्थानीय तहका कर्मचारीलाई सरुवा गरेर ल्याउन नमिल्ने भएका कारण मन्त्रालयबाट भिमदत्त नगरपालिकालाई लिखित निर्देशन सहितको पत्र पठाउँदै मन्त्रीको सचिवालयमा खटाउन जेठ २१ गते नै खटाउन भनिएको थियो । सोही पत्रको आधारमा सिअनमी कलावतीलाई मन्त्रालय पठाईएको भिमदत्त नगरपालिकाले जनाएको छ । 

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले मन्त्री पदमा शपथ गरेपछि जेठ १४ गते सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैं कोरोना महामारी नियन्त्रण पहिलो प्राथमिकता हुने बताएका थिए । मन्त्री खड्काले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारलाई मुख्य प्राथमिकता दिएर काम गर्ने बताएका थिए । तर मन्त्रालयमा कार्यभार सम्हालेपछि आफन्त मोहमा लागेको आरोप उनलाई लागेको छ । तर मन्त्री खड्कालाई यस विषयमा कुरा बुझ्न खोज्दा कुनै प्रतिक्रिया आएन् । पहिलो पटक सम्पर्क गर्दा उनका स्वकीय सचिवले मोबाईल उठाएर कार्यक्रममा रहेको र एक घण्टापछि फोन गर्न भनेका थिए । स्वकीय सचिवलाई प्रतिक्रिया लिन चाहेको विषयको बारेमा जानकारी गराएर त्यसपछि पटक पटक फोन गर्दा उनको फोन उठेन् । 

२०७४ सालमा भएको निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर २ को ख बाट नेकपा एमालेबाट खड्का प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । आफ्नो निजि सचिवालयमा आफन्त नातागोतालाई राख्न पाउने भएपनि मन्त्रीको सचिवालयमा भने राख्न पाईदैन । तर मन्त्री खड्काले नियम विपरित सम्धीनीलाई आफ्नो सचिवालयमा ल्याएको आरोप लागेको छ । उनको सचिवालयमा आएकी सम्धीनी कलावती भने निरन्तर भ्रमण गरिरहेकी आरोप लागेको छ ।